आले – अधिकारी विवाद प्रकरण लियो ठुलो रुप

७ असार २०७९, मंगलवार ११:२३

सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने “नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारीलाई नेपाल वायु सेवा निगम एन २०१९ को दफा २० बमोजिम निलम्बन गरी निजउपर जाँचबुझको कार्य अघि बढाउने।”

पर्यटनमन्त्री प्रेम आलेले आफ्नो स्वार्थ अनुकुल काम नगरेपछि अधिकारीलाई बर्खास्त गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए। सोही प्रस्तावका आधारमा अधिकारीलाई सोमवारको मन्त्रिपरिषद् बैठकबाट बर्खास्त गरिएको हो। अधिकारीलाई उनै आलेको प्रस्तावमा कार्यकारी अध्यक्ष नियुक्त गरिएको थियो।

आलेले गौतम बुद्ध क्षेत्रीय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ् निजी कम्पनीलाई दिन दबाव दिएका थिए भने निगमका कर्मचारी भर्ती गर्न दबाव दिएको आरोपसमेत लागेको छ। अधिकारीले निगमको आम्दानीको प्रमुख स्रोत ग्राउन्ड ह्यान्डलिङ निजी कम्पनीलाई दिन नसकिने भन्दै कुनै निर्णय नगरेपछि मन्त्री आले रिसाएका थिए।

आलेले आफ्नो कुनै पनि काम नगरेको भन्दै अधिकारी हटाउन प्रक्रिया अगाडि बढाएका थिए। स्रोतका अनुसार आफ्नो निर्देशन नमानेपछि मन्त्री आलेले अधिकारीसँग बोलचालसमेत बन्द गरेका थिए।

अधिकारीले टेलिफोन गर्दा मन्त्री आलेले अपशब्द प्रयोग गर्दै हप्काएका थिए। त्यसपछि अधिकारी उनलाई भेट्न जाँदा अपशब्द प्रयोग गर्दै दुर्ब्यवहार गरेका थिए। अधिकारीले मोबाइल अन गरेर मन्त्रीलाई भेट्न गएकाले दुर्ब्यवहार गरेको सबै रेकर्ड भएको थियो। सो रेकर्ड समाचारमाध्यम र सामाजिक संजालमा भाइरल बनेको थियो।

मन्त्री आले र अधिकारीबीच खटपटको सुरुवात भने साउदी अरेबिया उडानबाट भएको थियो। यो उडानको उद्घाटनमा अध्यक्ष अधिकारीले एमालेका सांसद महेश बस्नेत लिएर गएपछि मन्त्री आले रिसाएका थिए। व्यवसायिक उडानको सुरुवातमा बस्नेतसहित जम्बो टोली लगेको भन्दै आलेले अधिकारीलाई लिखित स्पष्टीकरण सोधेका थिए।

यस्तै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मंगलबार निर्वाचन आयोग जाँदै छन् । विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानार्षण गराउने कार्यक्रम छ ।