गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । उक्त भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा सहभागी भएका थिए ।
अध्यक्ष नेपालसँग पार्टीका नेता सोमप्रसाद पाण्डे सहभागी थिए । भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको छ ।
ूनागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरूप गृहमन्त्रीज्यूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको हो । उहाँसँगै म र मन्त्रालयका कानुनका सहसचिव कोमल खत्री पनि जानुभएको थियो । कुराकानी सकारात्मक भएको छ,ू गृहसचिव पाण्डेले भने ।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । त्यसकै लागि गृहमन्त्री खाँणले सत्तारूढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाललाई भेटेका हुन् ।
गृहमन्त्री खाँण यसअघि प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नागरिकता विधेयक सदनमा दलीय सहमतिमा पेस गर्न सहमति जुटाउन भेटेका थिए ।
यस्तै अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमा आशंकासहित अध्यक्ष नेपालले कटाक्ष गरेका छन्।
