पूर्वमाओवादीहरू छिट्टै एक ठाउँमा आउने प्रचण्डको खुलासा

५ असार २०७९, आईतवार ११:५६

सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको र पूर्वमाओवादीहरू छिट्टै एक ठाउँमा आउने आइतबार काठमाडौंमा पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बताएका हुन् ।

उनले आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको भन्दै परिवर्तनकारी शक्तिहरू एक हुनुपर्नेमा जोड दिए । ‘संघीयतालाई उल्ट्याएर यसलाई कमजरोर बनाउने प्रयास भइरहेको छ’ उनले भने, ‘आन्दोलनबाट लडेर ल्याएको यो परिवर्तनलाई संस्थागत गर्दै यसमा टेकेर थप अगाडि बढ्ने र संविधानलाई थप परिमार्जित गर्ने संघर्षमा छौं ।’

अध्यक्ष प्रचण्डले अहिलेको परिवर्तनमा कर्मचारीहरूको पनि उल्लेख्य भूमिका रहेको भन्दै कर्मचारीलाई राजनीतिकरूपमा संगठित हुने अधिकार रहेको बताए । ‘कर्मचारीहरुलाई पनि संगठित हुने, आन्दोलित हुने राजनीतिक रुपले प्रशिक्षित हुने अधिकार छ’ उनले भने, ‘परिवर्तन विरोधीहरू कर्मचारी संगठित भएको देख्न चाहँदैनन्, तर कर्मचारी संगठन र पार्टीबीच जीवन्त सम्बन्ध आजको महत्वपूर्ण आवश्यकता हो ।’

उनले पार्टी र कर्मचारी संगठनबीच राम्रो सम्बन्ध भएन भने समाजवादको यात्रा कमजोर हुने तर्क गरे । ‘साथीहरूको पार्टीसँग सम्बन्ध राम्रो भएन भन्ने गुनासो आयो’ उनले भने, ‘अब कर्मचारीबाट पार्टी केन्द्रीय समितिमा सिधै लैजाने निर्णय गर्छौं ।’

यस्तै नेपाली काँग्रेस, एमाले र एकीकृत समाजवादीको घोषणा पत्रलाई पनि नीति तथा कार्यक्रममा मेयर बालेन शाहले समेट्ने तयारी गरेका छन् । आज दिउँसो काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।