एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो दावी

४ असार २०७९, शनिबार २०:३०

नेकपा एमाले नेतृत्वको सरकारले कार्यदल बनाएर एसपीपीलाई स्थगन गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दावी गरेका छन् ।

सन २०१९ मा इन्डो प्यासिफिकको रिपोर्टमा नेपाल र श्रीलंकालाई एसपीपीको नयाँ सदस्यको रुपमा राखेको पाइएपछि एमाले नेतृत्वको सरकारले कार्यदल नै बनाएर एसपीपीलाई स्थगन गरेको मदन भण्डारी फाउण्डेसनले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले नेता ज्ञवालीले दावी गरेका हुन् ।

उनले नेपाली सेनाले राजनीतिक नेतृत्व र तालुकदार मन्त्रालयलाई जानकारी नदिएर अमेरिकालाई पत्र पठाएको बताए । त्यसबारेमा सरकारले स्पष्ट पार्नुपर्ने ज्ञवालीको भनाई थियो ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवालीले तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई सामेल गराएको प्रमाण लिखत नभेटिएको बताए । उनले नेपाली सेनाले एसपिपीबारे निर्देशन पाऊँ भनेर रक्षा मन्त्रालयलाई पत्राचार भने गरेको र रक्षा मन्त्रालयले मेरो पनि प्रतिनिधि राखेर अघि बढाउनू भनेको जानकारी समेत दिए ।

यस्तै एमालेसँग गठबन्धन बनाउने र भत्काउने कुनै फुर्सद नभएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । बुटवलमा आज रिटर्न फेडेरेसन नेपाल लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै पौडेलले एमालेले अहिले कुनै पनि नामको गठबन्धनको बाटोमा नरहेको प्रस्ट पार्दै गठबन्धन जोड्ने र बिगार्ने खेलका नभएको दाबी गरेका हुन् ।