शैक्षिक प्रमाणपत्र राखेर १० महिनामा १५२ जनाले लिए कर्जा

४ असार २०७९, शनिबार ११:११

चालु आर्थिक वर्षको साउन–वैशाखसम्म १५२ जनाले शिक्षित युवा स्वरोजगार कर्जा लिएका छन्। नेपाल राष्ट्र बैंककाअनुसार यो अवधिमा १४१ जनाले ‘क’ वर्गका बैंकबाट र ११ जनाले विकास बैंकबाट १० करोड ९ लाख रुपैयाँ बराबरको कर्जा लिएका हुन्।

चालु आर्थिक वर्षमा शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ब्याजदरमा कर्जा लिन सकिने व्यवस्था छ। १० महिनाको अवधिमा सहुलियतपूर्ण कर्जाका १० शीर्षकमा २ खर्ब ५६ अर्ब ३६ लाख रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको छ। राष्ट्र बैंकले यो अवधिमा सहुलियतपूर्ण कर्जाका लागि १५ अर्ब ७३ करोड ४१ लाख रुपैयाँ ब्याज अनुदान दिएको छ।

सरकारले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय विकास व्यवसाय कर्जामा सहुलियतपूर्ण ब्याजदरको व्यवस्था गरेको छ।

त्यस्तै उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्प पीडितको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालन, प्राविधिक तथा व्यावसायिक तालिम र युवा तथा स्वरोजगार कर्जा शीर्षकमा सस्तो ब्याजदरमा ऋण दिंदै आएको छ।

यस्ता शीर्षकमा ऋण लिनको लागि परियोजना निर्माण सुरु, दुई वर्षे योजना कार्यक्रम र आवश्यक परे धितोको व्यवस्था ऋण लिने व्यक्तिले व्यवस्था गर्नुपर्छ। सहुलियतपूर्ण ब्याजदर कार्यक्रमअन्तर्गत चालु आवको १० महिनामा व्यावसायिक कृषि तथा पशुपन्छी शीर्षकमा सबैभन्दा धेरै कर्जा प्रवाह भएको छ। राष्ट्र बैंककाअनुसार साउन–वैशाखको अवधिमा यो शीर्षकमा १ खर्ब ६२ अर्ब ९५ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको छ।

सबैभन्दा कम कर्जा चाहिँ प्राविधिक तथा व्यावसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिमका लागि प्रवाह भएको छ। यो शीर्षकमा लागि जम्मा चार लाख रुपैयाँ गएको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी महिला उद्यमशील कर्जाका लागि ८८ अर्ब ११ करोड, कपडा उद्योग सञ्चालनका लागि ३ अर्ब ५२ करोड र दलित समुदाय व्यवसाय विस्तार कर्जाका लागि ७६ करोड ९० लाख रुपैयाँ प्रवाह भएको छ।