किन एसपीपीलाई लेखिएको पत्र बारे तत्कालीन रक्षा मन्त्री पोखरेललाई जानकारी गराइएन ?

३ असार २०७९, शुक्रबार १२:२७

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का लागि लेखेको पत्रमा आफू जानकार नभएको नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माले भूकम्पको समयमा विपद् व्यस्थापनका लागि २० कात्तिक २०७२ मा एसपीपीलाई नेपाली सेनाले पत्र लेखेको बताएलगत्तै शुक्रबार संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा तत्कालीन रक्षा मन्त्री पोखरेलले सो पत्र लेखिएको विषयमा त्यो बेला आफूलाई जानकार नभएको बताएका हुन् ।

‘निकै ठूलो समस्या हो कि भनेर उठाउन खोजिएको विषय (एसपीपी) निराकरण हुनेतिर गयो, यो खुसीको कुरा हो, खासमा यो कुरा एक हिसाबले क्लोज नै भयो,’ तर पोखरेलले बैठकमा प्रश्न गरे, ‘एसपीपीका विषयमा सेनाले (त्यो बेला) सरकारलाई कहिले सोधनी भयो ? त्यसबेला मन्त्रालयबाट सकारात्मक रेस्पोन्स गर्ने आधिकारिक व्यक्ति को थियो ? सेनापतिले एसपीपीलाई पत्र लेख्दा भर्खर बनेको सरकार आधिकारिक हो कि पहिले सकारात्मक जवाफ सेनालाई पठाउने चाँही ? यसवारेमा बाहिर सत्य तथ्य ल्याउनुपर्छ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपाली सेनाले एसपीपीलाई पत्र पठाएको बेला पोखरेल उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा थिए । सो विषयमा आफूलाई बिबादमा तान्ने प्रयास भएकोतर्फ संकेत गर्दै त्यसको पृष्ठभूमिका विषयमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो ।

उपाध्यक्ष पोखरेलले पत्र पठाउने समय नहेरी त्यसको पृष्ठभूमिमा भएका छलफल र बहसलाई पनि सँगसँगै बाहिर ल्याउनु पर्नेमा पनि जोड गरेका छन । ‘एसपीपी कसको पालामा अगाडि बढाइएको थियो भन्ने भन्दा सुरुको कुन अवस्थामा त्यो अघि बढाइयो, त्यसको यथार्थता बाहिर ल्याउनुपर्छ,’ उनको माग छ ।

अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा पराराष्ट्र मन्त्री नारायण खड्काले ‘एसपीपीको च्याप्टर क्लोज’ भइसकेको’ र प्रधानसेनापति शर्माले एसपीपीको सैन्य सैन्य गठबन्धनलाई नेपाली सेनाले स्वीकार नगर्ने जनाए पनि पोखरेले ‘आन्तरिक कुराहरू मोडिन सक्छन्’ भन्दै पोखरलले थप आशंका गर्न भने छुटाएनन ।

उनले उक्त पत्राचारमा कसको अनुमति थियो ? भन्दै प्रश्न गरेका हुन्। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पहिलोपटक उपस्थित भएको भन्दै उनले सभापतिलाई धन्यवाद दिए।