पार्टीविरुद्ध चौतर्फी घेराबन्दी गर्दा पनि एमालेका राम्रो उम्मेदवारले जिते: ओली

२ असार २०७९, बिहीबार १३:५१

स्थानीय तह चुनावको नाममा महासंग्राम पार गरेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

आज काठमाडौंमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लोकतान्त्रिक अभ्यासका नाममा तानाशाही र अधिनायकवादी चरित्रविरुद्ध चुनाव लडिएको बताए । पार्टीविरुद्ध चौतर्फी घेराबन्दी गर्दा पनि एमालेका राम्रो उम्मेदवारले जितेको समेत ओलीले बताए ।

‘हाम्रा लागि चुनाव जीवनमरणको महासंग्राम थियो, हाम्रो अस्तित्व समाप्त गर्न कोसिस गरिएको थियो । यति गर्दा पनि आजको दिनमा प्रमुख पार्टी हौं,’ ओलीले भने, ‘स्थानीय तह चुनाव महासंग्राममा पैसाको दुरुपयोग मात्र भएन, अधिनायकवादविरुद्ध लड्यौं, लोकतन्त्रको नाम जप्ने तानाशाही, दमनकारी शासन सामना गरेर चुनाव जित्नु चानचुने कुरा होइन ।’

ओलीले ५ वर्षको समयमा नमूना काम गर्न निर्देशन दिए । ‘तपाईंहरूले ५ वर्ष आ–आफ्ना स्थानीय तहमा काम गर्नुपर्नेछ । कार्यकाल पूरा गर्दा तपाईंहरूको नाम हाइहाई होस्, आलोचना सुन्नु नपरोस्,’ ओलीले भने, ‘देखाइराख्न नपरोस्, जता फर्के पनि विकास देखियोस् ।’

एमालेले स्थानीय तह निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम सुरु गरेको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन्।