
नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेपछि डलरको तुलनामा नेपाली मुद्रा झनै कमजोर बन्दै गएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । एक अमेरिकी डलरको विनिमय दर १ सय २४.५६ रुपैयाँ (खरिद दर) तोकेको छ ।
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएपछि नेपाली मुद्रा डलरको तुलनामा इतिहासकै कमजोर अवस्थामा पुगेको हो ।
यसअघि गत विहीबार अमेरिकी डलरको भाउ १ सय २४.६८ रुपैयाँ पुगेको थियो । पछिल्ला दिनमा लगातार बढिरहेको छ । सोही क्रममा मंगलबार डलरको भाउ पुनः नयाँ उचाइमा पुगेको हो ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलरको भाउमा बृद्धि भएको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।
रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनेगर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको हो।
