नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ हालसम्मकै बलियो बनेको छ ।
बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ (बिक्री दर) तोकेको छ ।
यसअघि गत जेठ ६ मा डलर भाउ १२४.६७ रुपैयाँ पुगेको थियो । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ । सोही क्रममा बिहीबार नयाँ उचाइमा पुगेको हो ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलरको भाउमा बृद्धि भएको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।
रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनेगर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको हो।
नेपालको अर्थतन्त्रको प्रकृति जस्तो छ त्यो हेर्दा डलरको भाउ बढ्दा फाइदा भन्दा बेफाइदा नै बढी हुने विज्ञहरूले बताएका छन् ।
डलरको भाउ बढ्दा नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) बाट फाइदा भएपनि त्यो भन्दा बढी आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा बढी घाटा पर्छ । डलर महङ्गिँदा वैदेशिक ऋणको लागत बढ्नुका साथै निर्यात महँगो पर्न जान्छ । डलर बढ्दा विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ ।
