नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्रीहरु हेरफेर भएसंगै माओवादी केन्द्रमा पनि मन्त्रीहरु हेरफेरको लागि आवज उठिरहेको छ ।
बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताएका छन्। नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताएका हुन्।
माओवादी केन्द्रलाई पनि मन्त्रीहरु फेर्न दबाब परे पनि मन्त्री फेर्नेबारे पार्टीभित्र कुनै छलफल भने नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन। समाजवादीका साथीहरुले पूरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ। कांग्रेसमा पनि दबाब छ। जसपामा दबाब छ। यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन। हाम्रो अझै छलफल सुरु भएको छैन। अहिले फेर्नुपर्छ कि भन्ने खालका आवाज उठिरहेको छ।’
त्यस्तै, माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताए। उनले अहिले मन्त्री परिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पनि उल्लेख गरे।
‘सरकारमा फेरबदल नै गर्नुपर्ने भएपनि, पहिलो त संयुक्त सरकार हो। यो संयन्त्र छ। आचारसंहिताहरू छन्। मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरु बदल्छु भनेर कहीँ मिल्छ त्यो ? त्यो संयुक्त सरकारको सोचसँग मेल खाएन’ उनले भने, ‘अहिले पछिल्लो समयमा शिर्ष नेताहरु बसिसकेर अहिले बाहिर सार्वजनिक पनि भइसकेको छ, त्यो नमिल्ने कुरा उहाँहरुले सच्याउनुभएको छ।’
उनले गठबन्धनका शिर्ष नेताहरु बसेर मन्त्री हेरफेर गर्ने निर्णय सच्याइसकेको बताए। मन्त्री फेर्ने बिषयमा पार्टीका नेताहरुको मत बाझिँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दबावमा परेका छन्। नेताहरुकै आकांक्षाले पार्टीको महाधिवेशन गरेपनि हालसम्म पदाधिकारी समेत चयन गर्न सकेका छैनन्।
यस्तै नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासनको कारबाही सिफारिसले पार्टीभित्र तरंग ल्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बोलेको भन्दै पार्टीको अनुशासन आयोगले उनलाई कारबाहीको सिफारिस गरेको हो ।
