एमालेका सांसदले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको राजीनामा मागेका छन्।
बाजुराको बूढीगंगा नगरपालिकामा निर्वाचन आयोगले निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र यो निर्णय कानुन सम्मत नभएको भन्दै एमाले सांसद लालबहादुर थापाले राजीनामा मागेका हुन् ।
गत वैशाख ३० गतेको सम्पन्न स्थानीय तह निर्वाचनमा बूढीगंगा नगरपालिकामा विवादित भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि पुनः निर्वाचन गर्न लागिएको हो । त्यहाँ यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।
तर, एमाले सांसद थापाले पुनः मतदान गर्ने निर्णय गरेर निर्वाचन आयोगले जनताको अभिमतको अन्याय गरेको आरोप लगाए । उनले भने, ‘उक्त निर्वाचनको सन्दर्भमा माननीय निर्वाचन आयुक्त सगुन शमसेर जबराको संयोजकत्वमा दुई सदस्यीय छानविन समितिको प्रतिवेदन विपरीत राजनीतिक जालझेल, षडयन्त्र एवम् प्रचलित कानुन विपरीत जेठ १२ गते प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौडेलले बहुमतका आधारमा पुनः मतदानको निर्णय गरी जनताको अभिमतमा अन्याय गरेकाले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया लगायत दुई जना आयुक्तहरुको सभामुख मार्फत् राजीनामा माग गर्दछु ।’
उनले गृहमन्त्रीको राजीनामा, गृहसचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक र डिएसपीलाई हदैसम्मको कानुनी कारबाही गर्न पनि माग राखे ।
थापाले प्रचलित कानुन बमोजिम नै बूढीगंगामा मतदान भएको भन्दै पुनः निर्वाचन गर्नुको सट्टा मतगणना सुरु गर्नुपर्ने माग गरे ।
यस्तै बजेटका विषयमा मन्त्रालयको छलफल जारी रहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री फेरबदल गर्न नसकिने भन्दै नेपाललाई केही दिन कुर्न आग्रह गरेका छन् ।
