नेकपा (एकीकृत समाजवादी)का नेता तथा स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री हेरफेरका विषयमा कुनै जानकारी नभएको बताएका छन् ।
शनिबार र आइतबार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एकीकृत समाजवादीका नेताहरूले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन लागिएको प्रतिक्रिया दिएका थिए।
स्वास्थ्य मन्त्री खतिवडाले सोमबार मन्त्री हेरफेरका विषयमा कुनै जानकारी नभएको बताएका हुन्। “हामीलाई हटाउने वा नयाँ मन्त्री पठाउने भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन,” मन्त्री खतिवडाले भने, “हाम्रो पार्टीले त्यस्तो निर्णय गरेको भन्ने पनि मलाई थाहा छैन।”
एकीकृत समाजवादीका तर्फबाट पाँच जना मन्त्री सरकारका सहभागी छन्। खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, रामकुमारी झाँक्री शहरी विकास मन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र गोविन्दप्रसाद शर्मा (गोविन्द बन्दी) कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री छन्।
भरखरै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएकाले पनि तत्काल मन्त्री हेरफेर गर्ने कुरा नहुने उनको भनाइ छ। “सरकारले बजेट प्रस्तुत गरिसकेपछि सामान्यतया मन्त्री हेरफेर हुँदैनन्, यो संसारभरकै प्रचलन हो,” खतिवडाले भने, “बजेट बनाउन सहभागी मन्त्रीले नै संसद्मा बजेटको प्रतिरक्षा गर्नुपर्छ। आफ्नो मन्त्रालयका विषयमा उठेका प्रश्नको जवाफ दिनुपर्छ।”
एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएको छ। उनीहरूको ठाउँमा नवनियुक्त मन्त्रीहरू जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिरा केसीलाई पठाइएको छ
