नेपाल पूँजीबजार लगानीकर्ता संघले प्रधानमन्त्री शेयर बहादुर देउवा समक्ष पाँच बुंदे माग सहितको ज्ञापन पत्र बुझाएका छन् । आइतवार संघकी अध्यक्ष राधा पोखरेल सहितको पदाधिकारीहरुको टोलीले प्रधानमन्त्री देउवा समक्ष ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापनपत्रमा शेयर धितो कर्जामा लगाईएको ४÷१२ को नीति खारेज गरिनु पर्ने, सिडी रेसियोलाई खारेज गरेर पुन सिसिडि मै फर्कनु पर्ने, जोखिम भार १५० प्रतिशत कायम गरिएकोमा पुरानै ब्यबस्था कायम गरिनु पर्ने, र बैंकलाई ब्रोकर लाईसेन्स दिनु पर्ने विषय उल्लेख छ ।
ज्ञापन पत्र बुझाउँदै प्रधानमन्त्री समक्ष संघकी अध्यक्ष पोखरेलले पूँजीबजारको पछिल्लो अवस्था र समस्याको वारेमा जानकारी गराएकी थिईन । राष्ट्र बैंकको पछिल्लो नीतिका कारण ऐतिहासिक रेकर्ड कायम गरेको बजार निरन्तर घटिरहेकाले यसको निकासका लागि पहल गर्न अध्यक्ष पोखरेलले प्रधानमन्त्री देउवा समक्ष आग्रह गरेकी थिईन ।
प्रधानमन्त्री देउवाले आफुहरुकै अघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पूँजीबजारको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको पोखरेलको भनाई छ । संघले सोमवार राष्ट्र बैंकमा पूँजीबजारको समस्या र समाधानका विषयमा छलफल कार्यक्रम तय गरिसकेको जानकारी समेत अध्यक्ष पोखरेलले गराएकी छिन्
पछिल्लो समय निरन्तर ओरालो लागिरहेको शेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपियाँ गुमाएका छन् । एक वर्षअघि सेयर बजार उचाइमा पुगेका बेला नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ४४ खर्ब रुपियाँसम्म पुगेकामा अहिले ३१ खर्बको हाराहारीमा झरिसकेको छ।
यसैगरी गत भदौ २ गते ३२२० को बिन्दुलाई छोएको नेप्से परिसूचक अहिले दुई हजारको हाराहारीमा झरेको छ । सोही दिन २१ अर्ब ३१ करोड ३४ लाख रुपियाँको सेयर कारोबार भएकामा अहिले एक अर्ब रुपियाँभन्दा तल झर्न थालेको छ। गत वर्षको भदौमा उत्साहजनक रूपमा उकालो लागेर ३२ सय नजिक पुगेको बजार अहिले दुई हजारको बिन्दुमा पुगेको हो।
केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीको मूल्य अस्वाभाविक रूपमा बढाएको देखिएको भन्दै प्रतिवेदन अर्थ मन्त्रालयमा बझाएपछि सेयर बजारमा ठूलो तरङ्ग पैदा भएको थियो । त्यसपछि पनि सम्हालिँदै गरेको बजार चालू आर्थिक वर्षको मौद्रिक नीति गत साउन २९ गते आएपछि घट्न थालेको हो ।
