घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न सिफारिस गरेसँगै एमालेभित्र खैलाबैला

२२ जेष्ठ २०७९, आईतवार १७:२५

नेकपा एमालेका अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न सिफारिस गरेको छ। अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न सिफारिस गरेसँगै पार्टीभित्रै खैलाबैला भएको छ।

भुसालले निर्वाचनपछि एक टेलिभिजन अन्तरवार्तामा अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय व्यहोरेको बताउँदै कार्यशैलीको कडा आलोचना गरेका थिए। बुधबार बसेको अनुशासन आयोगको सचिवालय बैठकले स्थायी कमिटी सदस्य भुसालले पार्टी नीतिविपरीत काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्न सिफारिस गरेसँगै पार्टीभित्र यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

सार्वजनिक सञ्चारमाध्यममा पार्टी नेतृत्वमाथि प्रश्न उठाउने स्थायी कमिटी सदस्यलाई स्पष्टीकरण सोध्न सिफारिस गरिएको अनुशासन आयोगका अध्यक्ष केशव बडालले पत्रकारहरुलाई बताएका छन्। बैठकले निर्वाचन र त्यसपछि पार्टीविरूद्ध गतिविधि गर्ने विभिन्न तहका नेताहरूसँग स्पष्टीकरण सोध्न पार्टीलाई सुझाव दिएको अनुशासन आयोगका एक सचिवालय सदस्यले बताए।

भुसाल एमालेभित्र पार्टी अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्ने थोरै नेतामा पर्छन्। चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनमा अध्यक्ष ओलीको प्रस्तावविपरीत भीम रावल र घनश्याम भुसालले विरोध गरेर नेतृत्व चयनलाई निर्वाचन गराएका थिए । रावल अध्यक्ष र भुसाल उपाध्यक्षको उम्मेदवार बनेका थिए।

अहिले यो विषयलाई लिएर भुसाल समर्थकहरुले पार्टी ‘प्रालि मोडल’मा गएकाले सामान्य आलोचनालाई पनि अस्वीकार गरेर यो प्रकृया अपनाएको प्रतिक्रया दिएका छन् भने संस्थापन लाइन नजिकका नेताहरुले पार्टी नेतृत्वलाई आन्तरिक रुपमा सुझाव सल्लाह दिनुपर्नेमा बाहिर प्रचार गर्ने काम पार्टी हितविपरीत भएको बताउँदै आएका छन् ।

यस्तै आइतबार प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकमा माओवदी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले स्थानीय निर्वाचनपछि विकसित पछिल्लो राजनीतिको बारेमापार्टी पङ्क्तिलाई जानकारी गराएका छन्।