रोहिणी पुलबाट बस खोलामा खस्दा ९ जनाको मृत्यु र २३ जना घाइते

२२ जेष्ठ २०७९, आईतवार ११:५८

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खस्दा ९ जनाको मृत्यु र २३ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो भने २३ जना घाइते भएका हुन् ।
गृहमन्त्री बालकृष्ण खाँणले बस दुर्घटनामा परी मृत्यु भएकाहरुलाई श्रद्धान्जली दिँदै घाइतेहरुको उपचारमा केही कमी हुन नदिन निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्यायलाई टेलिफोन गरी उनले यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्रीले भीम अस्पतालका अध्यक्ष र प्रशासन प्रमुखलाई यथाशक्य उपचारको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

रोहिणी खोलाको पुलबाट बस खस्दा मृत्यु भएका ५ जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु भएका ९ जना मध्ये ५ जनाको सनाखत भएको र अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको रुपन्देही प्रहरीले जनाएको छ । २३ जना घाइते भएका थिए । मृत्यु भएका मध्ये बुटवलका विष्णु पौडेल, रौतहटका दिने दास, बुटबलका कृष्णप्रसाद बस्याल, रुपन्देहीमा राजेन्द्रपूसाद पाण्डे र भारतीय नागरिक अरविन्द शर्माको सनाखत भएको हो ।

उक्त बसमा ३२ जना यात्रु सवार थिए । ३२ जना मध्ये ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।