उपाध्यक्ष बमकुमारी खड्का सहित कारवाहीका लागि सिफारिस भएका ६ नेताहरू को को हुन् ?

१९ जेष्ठ २०७९, बिहीबार ११:३२

नेकपा एमालेका उम्मेदवारलाई गाउँपालिकाको कार्यपालिका सदस्यमा जिताउन सहयोग गरेको आरोपमा गाउँपालिकाका उपाध्यक्ष सहित ६ नेतामाथि कारवाहीका लागि सिफारिस गरिएको छ।

दाङको बबई गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित बमकुमारी खड्का सहित पार्टीका नेताहरूले कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई सघाएको आरोपमा उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारवाहीका लागि जिल्ला समितिमा सिफारिस गरिएको हो।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकामा कांग्रेस र एमालेबाट ३७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। तीमध्ये २० जना कांग्रेस र १७ जना एमालेका उम्मेदवार हुन्। तर, जेठ १५ गते भएको कार्यपालिका सदस्यको निर्वाचनमा कांग्रेसका उम्मेदवार पराजित भएका थिए। आफ्नो बहुमत हुँदा पनि पार्टीको तर्फबाट निर्वाचित उपाध्यक्ष खड्का सहित नेताहरूको कारण पराजित हुनु परेकाले उनीहरूलाई कारवाही गर्नु परेको कांग्रेस बबई गाउँपालिका समितिले बताएको छ।

कांग्रेस दाङका सभापति शंकर डाँगीका अनुसार‚ उपाध्यक्ष खड्का सहित वडा नम्बर ३ की दलित महिला सदस्य मीनाकुमारी वि.क, वडा नम्बर ५ का क्षेत्रीय प्रतिनिधि प्रशाराम भुषाल, पार्टीका क्रियाशील सदस्य सेवेन्द्र देवकोटा, नरबहादुर परियार, क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधि उर्मिला बस्याललाई कारबाहीका लागि जिल्लामा सिफारिस आएको जानकारी दिए।

उनले पार्टीको उम्मेदवारलाई अन्तर्घात गर्ने जो कोहीमाथि कारबाही हुने बताए। स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेहरूमाथि छानबिन भइरहेको बताउँदै पार्टीको नीति विपरीत काम गर्नेलाई पार्टीको विधान बमोजिम कारबाही हुने उनको भनाइ छ।

यस्तै काग्रेसका वष्ठि नेता रामचन्द्र पौडेलले सामाजिक सुरक्षा भत्ता आफू र आफ्नो परिवारमा कसैले पनि आजसम्म नलिएको र सामाजिक सुरक्षा  भत्ता अशक्त र अभावमा रहनेहरूका लागि भएकाले अभाव नहुनेहरूले त्यो सुविधा उपयोग गर्न नहुने बताएका छन् ।