नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले सांसदवाद नस्वीकारेको दाबी गरेका छन् ।
बहुदलीय प्रतिस्पर्धालाई स्वीकार्नुको अर्थ संसद्वादी बन्नु नभएको उनले बताए ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै प्रचण्डले क्रान्तिलाई नयाँ ढंगले अघि बढाउन यो प्रक्रियामा जोडिएको बताए ।
उनले भने, ‘हामीले बहुदलीय प्रतिस्पर्धालाई स्वीकारेका हौँ, संसदवादलाई होइन । क्रान्तिलाई नयाँ ढंगले अघि बढाउनका लागि यो प्रक्रियालाई सदुपयोग गर्नुपर्छ मात्र भनेका हौँ ।’
तर, पार्टीको कार्यशैली घोषित उद्देश्यअनुरूप नभएको प्रचण्डले गुनासो गरे । प्रचण्डले काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाको मेयरमा विजयी दुईजना वास्तविक स्वतन्त्र भएको बताए ।
माओवादीबाट विजयी २४९ जना जनप्रतिनिधिहरुलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा उनले यस्तो बताए ।
उनले स्वतन्त्र विजयी भएर आउँदैमा यो व्यवस्था लान्छन्, दलहरुलाई चुनौती दिन्छन् भन्ने सम्भव नभएको पनि बताए।
‘कालिकोटबाट जित्नु भएका जनप्रतिनिधि (मोहन केसी) स्वतन्त्र हो स्वतन्त्र होइन। जनकपुर र धनगढीमा जितेको मान्छे स्वतन्त्र हो, स्वतन्त्र होइन’, उनले भने, ‘काठमाडौं र धरानका (बालेन साह र हर्क साम्पाङ) अलिक भिन्न आए। ती भिन्नले पनि माओवादीले जस्तो कुरा गरेका छन्। त्यही भएर उनीहरुलाई जनताले मत दिएका हुन्।’
उनले हिजो माओवादीले धारो, पानी, शिक्षा, स्वास्थ्य आदिका एजेन्डा बोकेकाले जनताले विश्वास गरेको पनि बताए। ‘हिजो हामीले अन्याय, अत्याचारविरुद्ध लड्छौँ भनेका थियौँ तर अहिले हामीले त्यसलाई छाडेका आरोप छ’, उनले भने, ‘अहिले स्वतन्त्रहरु पानी खोज्दै हिँडेका छन्। हामीले राम्रो काम नगरेको देखेपछि स्वतन्त्र जिताएर हामीलाई नै सवक सिकाएका हुन् जनताले। तर पार्टी सिस्टम कमजोर बनेर स्वतन्त्रको राज्य चल्ने हुन सक्दैन।’
विगतमा सशस्त्र युद्धका क्रममा जनताको काममा सहयोग गर्ने गरे पनि अहिले त्यो कम हुँदै गरेको उनले बताए । उनले भने, ‘अहिले हाम्रो व्यवहार त्यस्तो छैन, हामीले जे भन्छौं त्यो गरिरहेका छैनौं । हाम्रो गराई अरु संसदवादी, बुर्जुवा अपर्चुनिस्टहरुको भन्दा फरक देखिन छाड्यो ।’
कुपण्डोलको पाँचतारे होटल हिमालयमा माओवादीले अहिले कुमारी हलमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिरहेको छ । अभिमुखीकरणमा देशभरका माओवादी जनप्रतिनिधिहरु उपस्थित छन् ।
यस चुनावमा माओवादी केन्द्रले ५ हजार ४५ पद जितेर तेस्रो भएको छ । जसमा २५ मेयर, ९६ गाउँपालिका अध्यक्ष, ३३ उपमेयर, ९५ गाउँपालिका उपाध्यक्ष छन् । यस्तै १ हजार ५३ वडाध्यक्ष, ९६३ महिला सदस्य, ९७३ दलित महिला सदस्य, १ हजार ८०७ खुला सदस्य माओवादी केन्द्रले जितेको छ ।
