प्रदेश सभाको र प्रतिनिधि सभाको निर्वाचनमा पनि आफूहरू गठबन्धन गरेर जाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । एमाले जस्तै अहंकार कांग्रेसमा पनि पलाउन लागेकोले चिन्ता लागेको उनले बताए ।
स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसमा अहंकार पलाए ठेगान लगाउने चेतावनी दिएका हुन् । उनले अहंकार र दमबले कसैको हित नहुने भन्दै कांग्रेसमा अहंकार र दमब नआओस् भन्दै यसो भनेका हुन् ।
‘गठबन्धन एउटा उद्देश्यका लागि बनेको थियो, कायमै रहन्छ, स्थानीय तहमा प्राप्त शिक्षाको आधारमा गठबन्धनलाई अझ प्रभावकारी बनाउने सोचमा छौं,’ प्रचण्डले भने, ‘कांग्रेस पनि एमालेजस्तै अहंकारी भएर माओवादी केही होइन भन्यो भने हामीले कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् भन्न चाहन्छु ।’
स्थानीय तह निर्वाचनको नतिजापछि कांग्रेसमा पनि अहम् पलाएको प्रचण्डले टिप्पणी गरे । ‘माओवादीले जिताइदिएपछि एमालेमा अहम् पलायो, कांग्रेसको त्यस्तै होला कि भन्ने डर भएको छ,’ उनले भने, ‘यो गठबन्धनलाई लिएर जाने हो, कांग्रेसमा अहंकार नआओस्, माओवादीलाई हल्का रुपमा लिने काम नगरोस् भन्ने अनुरोध छ ।’
यस्तै केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको राष्ट्रिय सभा सदस्य डा।वेदुराम भुसालले दाबी गरेका छन् । जेठ १५ गते बुधवार राष्ट्रिय सभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
