काठमाडौं । युरोपेली युनियनले रुसी तेलको आयात यो वर्षको अन्त्यसम्म ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ ।
रोयटर्सका अनुसार जुलाई महिनाका लागि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर १२२ डलर पुगेको छ । त्यस्तै, अगस्ट महिनाका लागि पनि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर ११७।९३ डलर पुगेको छ ।
त्यस्तै, अमेरिकाको वेस्ट टेक्सासमा शुक्रबार बन्द भएको बजार सोमबार खुल्दा २।२४ डलरले बढेर ११७।३१ डलर पुगेको छ ।
यसअघि युरोपेली युनियनले यो वर्षको अन्त्यसम्म सबै रुसी तेलको आयातमा प्रतिबन्ध लगाउने योजना अघि सारेको थियो । यद्यपि रुसी तेलमा निर्भर हङ्गेरीले रुसी तेलमा प्रतिबन्ध लगाउन आनाकानी गरिरहेको थियो ।
हंगेरीको चासोलाई सम्बोधन गर्दै युरोपेली युनियनले वर्षको अन्त्यसम्म ९० प्रतिशत रुसी तेलको आयातमा कटौती गर्ने निर्णय गरेको बताइएको छ ।
