तारा एयर जहाज दुर्घटनामा परी ज्यान गुमाएका मध्य २१ जनाको शव सोमबार र एकजनाको शव मंगलबार बिहान भेटिएको छ ।
नेपाली सेनाको पोखरास्थित मध्य कमान्ड हेडक्वार्टरका जनसम्पर्क अधिकृत प्रेम पौडेलले २१ जनाको सोमबार र एकजनाको शव मंगलबार बिहान भेटिएको जानकारी दिए। कोबाङ नउरिकोटमाथिको सानुसरे पहाडको खोंचमा अड्किएको शव र तल खोलामा छेउमा रहेको शव पनि बाहिर निकालिएको पौडेलले बताए।
१० जनाको शव सोमबार र आज थप १२ जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको जनसम्पर्क अधिकृत पौडेलले बताए। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दुर्घटनास्थलबाट जहाजको ब्ल्याकबक्ससमेत भेटिएको जानकारी दिए।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ‘९ एन–एईटी’ जहाज सम्पर्कविहीन भएको थियो। त्यसको भोलिपल्ट यार्सागुम्बा खोज्न गएका युवाले मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरेको पहाडमा दुर्घटनाग्रस्त जहाज फेला पारेका थिए।
भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भीरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर थसाङ गाउँपालिकाको केन्द्र कोबाङमा ल्याउन ढिलाइ भएको हो। कोबाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ।
उक्त दुर्घटना भएको तारा एयर ९एन एईटी जहाजमा तीन चालक दलका सदस्यसहित १९ यात्रु गरी २२ जना सवार थिए ।
