नेपाल राष्ट्र बैंकले बचतपत्रको बिक्री खुलाउने भएको छ। वार्षिक १२ दशमलव ५० प्रतिशत ब्याजदरसहितको वैदेशिक रोजगार बचतपत्र २०८४ को बिक्री खोल्न लागेको हो।
पाँच वर्षे अवधि रहेको यो बचतपत्रको निष्काशन हुने रकम ५० करोड रुपैयाँ छ। कम्तिमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा नि:शेष भाग जाने गरि आह्वान गरिएको रकममा मात्रै आवेदन दिन पाइने राष्ट्र बैंकले जानकारी दिएको छ।
यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिकका लागि ल्याइएको छ। त्यस्तै गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमती, छोरा र छोरी मात्र) को नाममा खरीद गर्न सक्ने उल्लेख छ। असार १३ गतेबाट यो निष्काशन हुनेछ। प्रत्येक ६/६ महिनामा यसको ब्याज भुक्तानी लिन सकिने पनि उल्लेख छ।
