चुनाबलाई लक्षित गरेर बजेट नल्याइएको अर्थमन्त्रीकाे जिकिर

१६ जेष्ठ २०७९, सोमबार १६:५८

अर्थमन्त्री जनार्दन शर्माले चुनाबलाई लक्षित गरेर बजेट नल्याइएको जिकिर गरेका छन्। ‘यो चुनाबी बजेट होइन। कतिपय भइरहेका सेवा सुविधा दिइरहेका छौं,’ उनले अर्थमन्त्रालयमा आयोजित बजेटपछिको पत्रकार सम्मेलनमा भने। लक्ष्य पूरा गर्नेगरी बजेट ल्याएको उनको भनाइ छ। ‘टार्गेट पूरा गर्ने गरि बजेट ल्याएका छाैँ। टार्गेट पूरा गर्न चुनाैती त छ नै, तर पूरा गर्ने सर्तमा बजेट आएको छ’ उनले भने।

सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतमा मूल्यवृद्धि सीमित राख्ने लक्ष्य लिएको छ। सरकारले आइतबार आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्बको बजेट ल्याएको हो।

सोमबार अर्थ मन्त्रालय भएको पोस्ट बजेट छलफलमा मन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासमेतको निर्देशन र नीति तथा कार्यक्रममा समावेश विषयलाई सम्बोधन गर्ने प्रयास गर्दै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको बताए।

‘बजेट निर्माणमा सबैका सुझाव लिएका थियौँ। सबैकाे सहकार्य र प्रमकाे निर्देशनमा नीति तथा कार्यक्रममा समावेश भएका विषय सम्बाेधन गर्ने काेसिस भएको छ’ उनले भने।

श्रम शक्ति र प्रविधिलाई जाेड्न सकेकाे अवस्थामा समस्या समाधन गर्न सक्छाैँ भन्ने लागेको उनले प्रतिक्रिया दिए।

‘बजेट भनेकाे बाटाे मात्रै नभइ जनताकाे हातमुख जाेड्ने र देशलाई सम्बृद्ध बनाउने विषय हो। देश निर्माणमा सबैकाे प्रतिबद्धता आवश्यक छ। यसले नै देश विकास गर्छ। बजेट गरिबी अन्त्यका लागि बाटो पनि हो’ उनले भने।

शिक्षामा सुधारकाे लागि बजेट केन्द्रित रहेको उनको भनाइ छ।

‘नीजी क्षेत्रका उत्पादकलाई उत्साहित बनाउने गरि सम्बाेधन गरेका छाैँ। अब उद्याेगधन्दा विस्तार हुने लक्ष्य छ। सिमेन्ट निकासीमा लैजाने लक्ष्यसमेत लिएका छाैँ’ उनले भने।

वित्तिय पहुँच बढाउन केन्द्रित भएको पनि उनले बताए। साथै साना मझौला उद्योगीलाई घरघरमा गएर पैसा दिने व्यवस्था गर्नुका साथै त्यसका लागि लघुवित्त काेष खडा गर्न लागेको उनले बताए।