हराइरहेको तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु

१६ जेष्ठ २०७९, सोमबार ०८:०४

आइतबार ९ः४५ बजे पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको सम्र्पकविहीन भएको छ । उक्त हिजोदेखि हराइरहेको तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ ।

मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिएका छन् ।
हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज बेपत्ता भएको छ । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि खोजी कार्य सुरु गरिएको हो ।

यद्यपि मौसम प्रतिकूल भएकाले खोज्न कठिन भएको प्रजिअ शर्माले बताए । ‘पूरै बादलले ढाकेको छ, तत्काल खुल्ने सम्भावना कम छ,’ प्रजिअ शर्माले भने, ‘यद्यपि हेलिकोप्टर र पैदल दुवै तर्फबाट खोजी सुरु गरिएको छ ।

उनका अनुसार नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली मानापाथी हिमालतर्फ र नेपाली सेनाको अर्को एउटा टोली निलगिरि हिमालतर्फ खोज्न गएको प्रजिअ शर्माले जानकारी दिए ।

उनका अनुसार एउटा हेलिकोप्टर आज बिहान ५ बजेतिर नै उडिसकेको छ । अर्को एउटा हेलिकोप्टर पनि उडाउने तयारी गरिएको छ ।
उक्त हराइरहेको विमानका पाइलट प्रभाकर प्रसाद घिमिरेको मोवाइलको नेटवर्कले काम गरिरहेको र नेटवर्क माध्यमबाट खोजी कार्य भइरहेको स्रोतले जनाएको छ ।