नेकपा (एस) छाडेर एमालेमा प्रवेश गरेका मेघनाथ चापागाई नेकपा एसमै फर्किए

१५ जेष्ठ २०७९, आईतवार १४:३२

नेकपा एकीकृत समाजवादी छाडेर स्थानीय चुनावको पूर्वसन्ध्यामा नेकपा एमालेमा प्रवेश गरेका मेघनाथ चापागाई सोही पार्टीमा फर्किएका छन् ।

नेकपा एमालेमा स्थानीय चुनावको पूर्वसन्ध्यामा लागेका एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका उपमहासचिव चापागाई सोही पार्टीमा फर्किएका हुन् ।

आइतबार नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर चापागाईले आफू केही समय विवशतावस अलमलमा परेको भन्दै संगठनमा फर्किएका जनाएका छन् । उनले अब कहिले पनि आफू तलमाथि नहुने बताएका छन् । चुनावअघि वैशाख १८ गते चापागाई एमालेमा प्रवेश गरी स्याङ्जाको चापकोट नगरपालिकामा एमाले जिताउन सक्रिय भएका थिए । चुनावलगत्तै उनी एमालेबाट नेकपा एसमा फर्किएका हुन् ।

यस्तै, धरान उपमहानगरपालिकामा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई पार्टीले हस्तक्षेप गरेपछि चौतर्फी विरोध भएको छ। निर्वाचित भएर कार्यभार सम्हाल्नेबित्तिकै जनताको अभिमतलाई प्रभावित पार्ने गरी पार्टीले हस्तक्षेप गरेको भन्दै जनप्रतिनिधिहरुले विरोध जनाएका छन्।