नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर माथि पुग्यो, व्यापारघाटा थेगिनसक्नु

१४ जेष्ठ २०७९, शनिबार २१:४१

नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ । अर्थमन्त्री जनादन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको छ ।

यसअघि आर्थिक वर्ष ०७७/७८ मा एक हजार २४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा एक हजार ३८१ डलर पुग्ने अनुमान गरिएको हो ।

मुलुकको कुल व्यापार घाटा ३४.५ प्रतिशत नाघेको छ ।  आर्थिक सर्वेक्षण प्रतिवेदनमा चालु आर्थिक वर्षको ८ महिनामा सरकारको व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको उल्लेख छ ।

आर्थिक वर्ष २०७७/०७८ मा व्यापार घाटा १.६ प्रतिशतले मात्रै बढेको थियो । सो वर्षको ८ महिनाको अवधिमा कुल व्यापार घाटा ८ खर्ब ६३ अर्ब २१ करोड थियो । वस्तु आयात ३८.६ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब ७३ करोड पुग्दा निर्यात पनि एक खर्ब ४७ अर्ब ७५ करोड मात्रै रह्यो ।

नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ ।

आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । यसलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ६३ हजार ३१० रुपैयाँ पर्न जान्छ ।

अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड र बाह्य ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

यसै वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । सरकारले यस वर्ष फागुन मसान्तसम्म ८९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।