पार्टीभित्रैका व्यक्तिको अन्तर्घातका कारण पार्टी दोस्रो स्थानमा झर्‍यो:ओली

११ जेष्ठ २०७९, बुधबार २०:३६

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका व्यक्तिको अन्तर्घातका कारण पार्टी दोस्रो स्थानमा झरेको दाबी गरेका छन्।

संसद् भवन नयाँ बानेश्वरमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पालिका चुनावमा पार्टी हार्नुको कारण अरू नभइ अन्तर्घात नै भएको बताएका हुन्।

यसअघि अरू पार्टीमा हुने गरेको अन्तर्घातको डरलाग्दो समस्या यस पटक एमालेमा देखिएको भन्दै ओलीले यस्ता गलत कर्म गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी पनि दिएको बैठकमा सहभागी एक सांसदले जानकारी दिएका छन् ।

‘कांग्रेस, माओवादी र माधवकुमार नेपालको पार्टीमा नभइ यस पटक एमालेमा अन्तर्घात भयो । कहाँबाट सिके यस्तो, यस विषयमा बृहत् रूपमा समीक्षा गरिनुपर्छ’, अध्यक्ष ओलीले भनेका छन् । उनले केही–केही ठाउँमा सत्ता पक्षले धाँधली गरेको समेत आरोप लगाए ।