सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले पोखरा महानगरपालिकामा अग्रता कायमै राखेका छन्।
एक लाख चार हजार दुई सय १२ मत गणना हुँदा आचार्यले ४१ हजार ७०५ मत प्राप्त गर्दै उनका निकटतम प्रत्याशी नेकपा एमालेका कृष्णबहादुर थापालाई तीन हजार तीन सय ९५ मतले पछाडि पारेका छन् ।
पोखरा महानगरपालिकाको नेकपा एमालेका मेयर उम्मेदवार कृष्णबहादुर थापाले ३८ हजार ३१० मत ल्याएका छन्।
यस्तै महानगरको उपमेयरमा भने एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ। गुरुङले ४३ हजार ६१६ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार कांग्रेसका कोपिला रानाभाटको ४१ हजार ९२० मत रहेको छ।
पोखरामा वैशाख ३० गतेको निर्वाचनमा एक लाख ४३ हजार २२६ मत खसेको थियो। महानगरका ३३ वडामध्येमा अहिले वडा नम्बर १०, ११, १६, १७, १८, १९, ३९, ३० र ३१ को मतगणना भइरहेको छ। अहिलेसम्म २० वटा वडाको परिणाम सार्वजनिक भइसकेको छ भने २१, २२, ३२ र ३३ वडामा मत गणना गर्न बाँकी रहेको छ ।
