एक सुका मूल्यमा लिन मिल्ने भएपनि माधव नेपाललाई अब लिन हुन्न: नेता सूर्य थापा

८ जेष्ठ २०७९, आईतवार १०:२३

माधव नेपाललाई अब लिन नहुने एमालेका नेता सूर्य थापाले कडा टिप्पणी गरेका छन् ।

एमालेका नेता थापाले आफ्नो पार्टीले एक सुका मूल्यमा लिन मिल्ने भएपनि माधव नेपाललाई अब लिन नहुने कडा टिप्पणी गरेका हुन् ।
उनलेनेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै अब नेपाली राजनीतिमा माधव नेपालको उपयोगिता सकिएको बताएका हुन् ।

उनले भने,”माधव नेपाललाई त एक सुकामा दिएपनि एमालेले लिन हुन्न, उहाँको उपयोगिता सकियो, उहाँले धोका, गद्दारी, हाम्रा विरुद्धको गठबन्धन, उहाँले गर्न नहुने सबै हर्कत गरिसक्नुभयो, उहाँ नेपाली कांग्रेसको केही दिएको चिज खाएर बस्नुहुन्छ, उहाँलाई हामीले एक सुका मूल्यमा पनि लिनुहुन्न ।”

उनलेआफ्ना नेताहरुले प्रचण्ड र चित्रबहादुर केसीसँग वार्ता नगरेको दाबी गरे । उनले अब प्रचण्डको पुच्छर समाएर कुनै बैतर्नी पार हुन्छ भन्ने पनि आफूहरुमा भ्रम नरहेको जिकिर गरे ।

उनले भने(“हामीले प्रचण्डलाई भोगेका छौं, मोहनविक्रम र चित्रबहादुरहरुको दुर्दशा पनि भोगेका छौं । उनीहरु आँफै त महादेव, उत्तानो परको अवस्थामा छन्, तिनले एमालेको के संकटमोचन गर्नु ? आँफै समाप्त हुन लागेका शक्तिहरुले हाम्रो के रेस्क्यु गर्छन् ? हाम्रा नेताहरुले प्रचण्ड वा अरु कुनै नेतालाई भेटेका छैनन् ।”

यस्तै गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयरमा साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले सात हजार ४१५ मतले अग्रता लिएकी छन् । उनले ८९ हजार ५०८ मतगणना गर्दा ३५ हजार ९८ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत प्राप्त गरेका छन् ।