सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार रेनु दाहाल ३२२२ मतले अग्रता

६ जेष्ठ २०७९, शुक्रबार १४:०९

भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार रेनु दाहालले सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार ३२२२ मतको अग्रता बढाएकी छन्।

५६ हजार ८४५ मत गणनामा रेनुले २१ हजार ४९२ मत पाउँदा उनलाई राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन्। राप्रपा र एमाले गठबन्धनका साझा उम्मेदवार विजय सुवेदीले १८ हजार २७० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८१३३ मत पाएका छन्।

उपमेयरतर्फ पनि सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ। सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चित्रशेन अधिकारीले प्रतिष्पर्धि राप्रपाका उम्मेदवारभन्दा ९८३३ मतले अघि छन्। अधिकारीले २३८६१ मत पाउँदा एमालेसँग गठबन्धन गरेको राप्रपाकी उम्मेदवार हिमला गुरूङले १४०२८ मत पाएकी छन्।

यस्तै निर्वाचन आयोगका अनुसार सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले १८३ पालिकामा विजयी भएको छ । कांग्रेसले १०२ नगरपालिकाको प्रमुख र १८० गाउँपालिकाको अध्यक्ष जितेको छ । गठबन्धन आबद्ध नेकपा (माओवादी केन्द्र) २० नगरपालिका र ९२ गाउँपालिका गरी ११२ पालिकामा विजयी भएको छ ।

जनता समाजवादी पार्टी नेपाल २० र नेकपा (एकीकृत समाजवादी) १४ पालिकामा विजयी भएको छ । स्थानीय निर्वाचनमा गठबन्धन आबद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले छ महानगर, ११ उपमहानगरसहित केही पालिकामा गठबन्धन गरेका थिए ।