चालु वर्षको १० महिना सकिन लाग्दा सरकारी खर्च ९ खर्ब !

२७ बैशाख २०७९, मंगलवार १२:४८

चालु आर्थिक वर्षको १० महिना सकिन लाग्दा सरकारी खर्च ९ खर्ब नाघेको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार १० महिना सकिन केही दिन बाँकी रहँदा कुल खर्च लक्ष्यको ५५.३२ प्रतिशत मात्रै खर्च भएको हो। चालु वर्ष १६ खर्ब ३२ अर्ब खर्च गर्ने लक्ष्य छ। अब पुरै खर्च गर्न दैनिक साढे ११ अर्ब भन्दा बढी खर्च गर्नु पर्नेछ।

यो अवधिमा सबैभन्दा धेरै खर्च चालु शीर्षकमा ७ खर्ब १२ अर्ब खर्च भएको छ। यस्तै विकास खर्चमा उल्लेख्य प्रगति हुन सकेको छैन। यो अवधिमा विकास खर्च १ खर्ब १७ अर्ब मात्रै खर्च भएको छ। यो कुल खर्च लक्ष्यको करिब ३१ प्रतिशत मात्रै हो।

यो पटक निर्माण सामाग्री महँगो भएको भन्दै विभिन्न आयोजनामा निर्माण व्यावसायीहरुले काम ठप्प पारेका छन्। यस्तै स्थानीय चुनावले पनि विकास खर्चलाई प्रभावित बनाइरहेको छ।

यसैक्रममा अधिकांश आयोजनाहरुले बजेट सरेन्डर गरिसकेका छन्। चालु वर्षमा गतवर्षभन्दा कम खर्च भएको छ। गत वर्ष यसै अवधिमा सरकारले १ खर्ब २२ अर्ब खर्च गरिसेको थियो। तर यो पटक गतवर्ष भन्दा ५ अर्ब कम विकास खर्च भएको छ।