राजस्व छल्ने अन्तरा इन्टरनेशनलविरुद्ध १७ करोड बिगो मागदाबी गर्दै राजस्व अनुसन्धानले हाल्यो

२७ बैशाख २०७९, मंगलवार ०८:०५

राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने अन्तरा इन्टरनेशनलविरुद्ध विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
विभागले १७ करोड ७ लाख रुपैयाँ माग दाबी गर्दै कम्पनीका लेखापरीक्षक श्याम सुन्दर यादव, गणेश बहादुर केसीलाई मुख्य विपक्षी बनाएर मुद्दा हालेको हो।

यो कम्पनीले राजस्व छली गर्ने मनाशायले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बिजक प्रयोग गरेको विभागले फेला पारेको थियो।

यसरी नक्कली भ्याट बिल प्रयोग गरेर कम्पनीले भ्याटतर्फ २ करोड ५० लाख र आयकरतर्फ ६ करोड ३ लाख छली गरेको आरोप छ।

कम्पनीसँग बिगो रकमसहित जेल सजाय समेत माग गरेर मुद्दा हालिएको छ। अब अदालतले कम्पनीविरुद्ध राजस्व अनुसन्धान ऐन २०५२ अनुसार मुद्दा अघि बढाउने बताइएको छ।