भरतपुर र काठमाडौं महानगरपालिकालाई जित्न तर्फ सत्ता गठबन्धनका शीर्ष नेताहरु केन्द्रित

२५ बैशाख २०७९, आईतवार ०८:४६

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा भरतपुर र काठमाडौं महानगरपालिका जसरी पनि जित्ने तर्फ सत्ता गठबन्धन आबद्ध पाँच दलहरु केन्द्रित भएका छन् ।

गठबन्धनमा आबद्ध दलका पहिलो र दोस्रो तहका शीर्ष नेताहरुले देशका ६ महानगरपालिकामध्ये काठमाडौं र भरतपुरलाई  विशेष रुपमा लिएर जित्न लागिपरेका छन् ।

काठमाडौंको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उपमेयर मैदानमा छन् । यसैगरी, भरतपुर महानगरमा माओवादी केन्द्रले मेयर पाउँदा कांग्रेसले उपमेयर लिएर मैदानमा होमिएको छ ।

यी दुई महानगरमा गठबन्धन आबद्ध शीर्ष नेताका छोरी र श्रीमती उम्मेदवार बनेका छन् । भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल उम्मेदवार बनेकी छन् भने काठमाडौंमा कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंह मैदानमा छिन् ।

यी दुवै महानगरमा गठबन्धन आबद्ध कांग्रेस माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले चुनावी सभासमेत गरिसकेका छन् । ती सभामा सहभागी भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपालसहितका शीर्ष नेताहरूले भरतपुर र काठमाडौंलाई केन्द्रमा राख्दै मत मागेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललेसमेत बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन सकेसम्मको प्रयास गरेका थिए ।