सांसद पदबाट राजीनामा दिएर किन मेयर पदका लागि उम्मेदवार बन्दै छन् नेताहरु ?

२४ बैशाख २०७९, शनिबार १२:१२
प्रदेशसभाका ६ जना सदस्य पदबाट राजीनामा दिएर मेयरको प्रतिस्पर्धामा उत्रिएका छन्।

मधेस प्रदेशका सांसद सेख अबुल कलाम (फूलबाबु) सांसद पदबाट राजीनामा दिएर मेयर पदका लागि उम्मेदवार बनेका छन् । कलाम २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । चुनाव जितेपछि उनी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका थिए । उनी जसपाबाट रौतहटको गढीमाई नगरपालिकामा मेयर पदका लागि उम्मेदवार छन्।

‘उहाँ (कलाम) लाई यस नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन गढीमाईवासीको धेरै नै माग आयो । उहाँले जनताका लागि राजनीति गर्नुभएको हो। जनताबाटै माग आएपछि कसरी नकार्न सक्नहुन्छ?’ कलामका सहयोगी कौसर खानले भने, ‘त्यसैले मेयरमा उम्मेदवारी उहाँको चाहनाभन्दा पनि जनताको माग हो।’

जनतासँग प्रत्यक्ष जोडिन पाउने मात्र होइन, झन्डै अर्ब रूपैयाँ बराबार बजेट हुने पालिकाको कार्यकारिणी प्रमुखमा नेताहरूको आकर्षण बढेको छ। पालिका प्रमुखमा निर्वाचित भएपछि पाँच वर्षसम्म ढुक्कले काम गर्न पाइन्छ। संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएका सबै अधिकार पालिका प्रमुखले ढुक्कसँग प्रयोग गर्न पाउँछन्। स्थानीय सरकार पाँच वर्षसम्म स्थिर रहने संविधानमै व्यवस्था छ। ‘प्रदेश सरकारका मन्त्रीहरू पाँच वर्षसम्म टिक्ने सम्भावना धेरै नै कम हुन्छ। मन्त्री भए पनि राम्रोसँग बजेट प्रयोग गर्न नपाउँदै मन्त्री पद गुम्ने सम्भावना रहन्छ,’ एक प्रदेश सांसदले भने, ‘बजेट, जनतासँगको सोझो सम्पर्क, काम गर्ने मौका, स्थिरता आदि सबै कारणले प्रदेश सांसदभन्दा पालिका प्रमुख आकर्षक पद बनेको छ।’

एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापित पनि वाग्मती प्रदेशका निवर्तमान सांसद हुन्। उनी झन्डै २५ वर्ष पहिले काठमाडौंको मेयरमा निर्वाचित भएका थिए। यसपटक उनी प्रदेश सांसद छाडेर फेरि मेयरमा दोहोरिन चाहेका छन्। उनका लागि प्रदेश सांसद तथा मन्त्रीभन्दा काठमाडौं महानगरपालिकाको मेयर पद आकर्षक भएको छ। नागरिक दैनिकबाट