प्रचण्डले गरे भरतपुरमा गठबन्धनले निर्वाचन जित्ने खुलासा

२२ बैशाख २०७९, बिहीबार १३:५८

भरतपुरमा गठबन्धनले निर्वाचन जित्न अप्ठ्यारो नहुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

भरतपुरमा आज हुन लागेको पाँचदलीय गठबन्धनको आमसभालाई सम्बोधन गर्न चितवनका पुगेका दाहालले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै धेरै कारणले निर्वाचनको नतिजा गठबन्धनको पक्षमा आउने विश्वास व्यक्त गर्दै निर्वाचनमा अप्ठ्यारो हुने परिस्थिति नदेखेको बताएका हुन् ।

भरतपुर महानगरपालिकामा गठबन्धनले माओवादी केन्द्रकी रेनु दाहाललाई पुनः मेयरका लागि र उपमेयरमा नेपाली कांग्रेसका नेता चित्रसेन अधिकारीलाई उठाएको छ । यस्तै भरतपुरको मेयर कांग्रेसले नपाएपछि असन्तुष्ट बनेका चितवनका कांग्रेसका नेता–कार्यकर्ताले पुराना नेता जगन्नाथ पौडेललाई मेयरमा उठाएपछि भरतपुर अहिले चर्चामा छ ।

दाहालले गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको र फैसला चितवनको हातमा भएकोसमेत बताए । उम्मेदवारी उठ्ने स्वतन्त्रता सबै नेपालीलाई हुन्छ, यसबारे धेरै चर्चा गर्नुभन्दा गठबन्धन आफ्नो काममा एकबद्ध भएर अघि बढ्नु नै राम्रो हुन्छ,’ उनले भने । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा राम्रो माहोल भएको बताउँदै भरतपुरमा आएको स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न कोसिस गर्नुपर्ने बताए ।

भरतपुरको चुनावी सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, डा। शेखर कोइरालालगायत नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।कांग्रेस पार्टीको निर्णय अवज्ञा गर्दै मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल चुनाव चिह्न भुइँकटर लिएर प्रचार अभियानमा छन् ।