बैंकको ब्याजदर बढ्दै, नगद मार्जिनको व्यवस्था हट्न लागेको हो ?

२२ बैशाख २०७९, बिहीबार ०८:०३

नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर अझै बढ्ने बताएको छ।

कर्जा र निक्षेपको अनुपात अर्थात् सीडी रेसियो समेत सुधार हुँदै गर्दा गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढ्ने बताएका हुन् ।

उनको संकेत नगद मार्जिन तोकिएको वस्तुहरुलाई सुधार गर्ने हुनसक्ने देखिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले  अर्थतन्त्र खस्कँदो अवस्थामा रहेकोले ब्याजदर बढ्ने र त्यसको तयारी गर्न आग्रह गरेका थिए ।

उनले त्यति मात्रै नभई कार्यक्रममा आयातमा प्रतिबन्ध लगाउने र एलसीमा नगद मार्जिन राख्ने व्यवस्था गरेको भए पनि यो दीर्घकालीन नहुने बताएका थिए ।

विलासी वस्तुको आयातमा प्रतिबन्ध गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो । त्यसकारण त्यसको प्रतिबन्ध खुल्न पनि सरकारले नै निर्णय गर्नुपर्छ।

तर नगद मार्जिनको व्यवस्था भने नेपालमा अत्यावश्यक नरहेको भन्दै राष्ट्र बैंकले गरेको थियो। त्यो व्यवस्था हटाउने संकेत गभर्नर अधिकारीले गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकमा रहेको निक्षेप सामान्य बढेको छ। पछिल्लो साता निक्षेप ४६ करोड रूपैयाँ बढेको संघले जनाएको छ ।

नयाँ वर्ष २०७९ को पहिलो ९ दिनमै वाणिज्य बैंकहरुबाट साढे २१ अर्ब रुपैयाँ निक्षेप कम भएको थियो । त्यसपछिको सातामा भने सामान्य दरमा बढेको संघले जनाएको छ ।

वैशाख ९ गतेसम्म बैंकहरूमा ४३ खर्ब ६७ अर्ब १३ करोड रूपैयाँ निक्षेप थियो जुन १६ गतेसम्म बढेर ४३ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ कायम भएको हो। निक्षेपभन्दा कर्जा ६ गुणाले बढेको छ ।

कर्जा २ अर्ब ९४ करोडले बढेर ४१ खर्ब ९६ अर्ब ८७ करोड रुपैयाँ पुगेको संघले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकका अनुसार समग्र्र बैंकिङ क्षेत्रमा अहिले ४९ खर्ब ३५ अर्ब रुपैयाँ छ। त्यस्तै अहिले कर्जा प्रवाह ४७ खर्ब २४ अर्ब रहेको छ।

निक्षेप र कर्जाको अनुपात अर्थात् सीडी रेसियो ९० दशमलव ७४ प्रतिशत रहेको छ ।