बजेट खर्चमा सरकारको असफलता कायमै‚ आधा बजेट खर्च गर्न नि धौँ धौँ !

२१ बैशाख २०७९, बुधबार ०६:०९

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ। अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो नौ महिनामा खर्च गरेको उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खर्च गरेकोभन्दा १.०३ प्रतिशतले बढी हो।

यस वर्ष सरकारको चालु खर्च ६ खर्ब २५ अर्ब ५० करोड ८ लाख रुपैयाँ रहेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशतले बढी हो।

पछिल्लो नौ महिनामा सरकारको पूँजीगत खर्च १ खर्ब ३ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १.९४ प्रतिशतले कम हो। बितेका नौ महिनामा वित्तीय व्यवस्था ६४ अर्ब ९६ करोड ५६ लाख रुपैयाँ रहेको छ।

सरकारले चालु आर्थिक वर्षको लागि कूल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सरकारले चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि बजेटमा विनियोजन गरिएकोमध्ये आधा रकम पनि खर्च गर्न सकेको छैन।
राजस्व संकलन

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८।२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ।अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कूल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। लक्षितमध्ये ९८.२७ प्रतिशत रकम संकलन गर्न सफल भएको अर्थले जनाएको हो।

यसवर्ष संकलन भएको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व, ६१ अर्ब ४७ करोड रुपैयाँ गैरकर राजस्व र अन्य प्राप्ति ३८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ।