केशब स्थापित मेरो ब्राण्ड एम्बेसडर: बालेन शाह

२० बैशाख २०७९, मंगलवार १७:०९

एमालेतर्फबाट काठमाडौ महानगरको मेयरका प्रत्यासी केशव स्थापितले आफूविरुद्ध गरिरहेको टिप्पणीप्रति कुनै प्रतिक्रिया जनाइरहन आवश्यक नभएको काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले बताएका छन् ।

बरु स्थापितले गरिरहेको टिप्पणीले आफूलाई फाइदा पुगेको उनको भनाइ छ । ‘नरदेवीमा घरदैलो अभियानमा जाँदा केशव स्थापितले सधैँ गाली गर्ने मान्छे यही हो भनेर मलाई बुढापाकाहरुले हेर्नुभयो’ शाहले भने, ‘खासमा बुढापाकालाई पेनिट्रेट गर्न उहाँ मेरो ब्राण्ड एम्बेसेडर बन्नुभएको छ ।’

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्थापितले शाहलाई ‘केशव स्थापितलाई जिताउँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको आरोप लगाएका थिए । शाहले भने स्थापितको आरोप अस्वीकार गर्दै त्यसरी प्रचार गर्न जरुरी नभएको बताए । उनले भने, ‘त्यसरी प्रचार गर्न हामीलाई जरुरत नै छैन, कुनै मिम बनेका हुनसक्छन् । त्यसबारे जानकारी छैन ।’

स्थापितले शाहसँग दुई घन्टा चिया भेट भएको र खिचापोखरीबारे सोधेको सुनाएका थिए ।

तर शाहले भने हालसालै स्थापितसँग कुनै कुराकानी नभएको बताए । ‘चार महिनाअघि उम्मेदवारी दिने प्रारम्भिक छलफलकै सिलसिलामा उहाँसँग भेट भएको हो,’ उनले भने, ‘तर त्यस्तो विषयमा कुनै कुराकानी भएको थिएन ।’ त्यतिबेला अन्य पार्टीका नेताहरुसँग पनि त्यसै गरी भेट गरेर छलफल गरेको शाहले बताए ।