मानवअधिकार रक्षाका लागि एकजुट हुन आह्वान : प्रधानमन्त्री देउवा

२४ मंसिर २०७४, आईतवार १५:४२

मंसिर २४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र, कानुनी शासन र मानवअधिकार रक्षाका लागि एकजुट हुन आह्वान गरेका छन् ।

६९औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आइतबार राष्ट्रिय मानवअधिकार आयोगले केन्द्रीय कार्यालय हरिहरभवन ललितपुरमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले मानवअधिकार उल्लंघनका घटनाका सम्बन्धमा आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।  उनले मानवअधिकार संरक्षणका लागि आयोगले गरेको काम प्रशंसनीय रहेको बताए ।

 

प्रधानमन्त्री देउवाले सरकारले आयोगको स्वतन्त्रता, निष्पक्षता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले आयोगको भौतिक संरचना र आवश्यक नीति–नियमको व्यवस्था गर्न सरकार दृढ रहेको बताए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दन्डहीनताको अन्त्यका लागि राजनीतिक प्रतिबद्धतासहितको प्रभावकारी कानुनको कार्यान्वयन अत्यावश्यक देखिएको बताए । आयोगले यस आर्थिक वर्षमा मानवअधिकार उल्लंघनका २२० उजुरीमा अनुसन्धान सम्पन्न गरी सरकारलाई सिफारिस गरेको जनाएको छ ।