सुदूरपश्चिम प्रदेशका इञ्चार्जलाई माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्दा जथाभावी निर्णय गरेको भन्दै हटाएको छ ।
इञ्चार्ज खगराज भट्टले केन्द्रको निर्देशन र तल्ला तहका कमिटीलाई लत्याउँदै उम्मेदवार छनौटमा मनमौजी गरेको आरोपमा उनलाई हटाएको हो । पार्टीले भट्टको अधिकार खोसेर प्रदेश समितिका अध्यक्ष हरिराम चौधरीलाई इञ्चार्जको जिम्मेवारी दिएको छ ।
निर्वाचन प्रयोजनका सन्दर्भमा अबदेखि भट्टको हस्ताक्षर नचल्ने गरी माओवादी केन्द्रले उनको अधिकार खोसेको हो ।माओवादी केन्द्रीय कार्यालयले अबदेखि प्रदेश समिति अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर आधिकारिक हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको छ ।माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले अबदेखि निर्वाचन प्रयोजनका लागि चौधरीको हस्ताक्षर चल्ने निर्णय भएको पुष्टि गरे ।
