श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चित नभएसम्म देशको विकास र रूपान्तरण सम्भव नभएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
संविधानले व्यवस्था गरेको समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्ने नेपालले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै जोड दिएका हुन् ।
श्रमजीवी जनताको विकासशील संघर्षमा सहभागी बन्ने, त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने र विजयसम्म अघि बढाउने घोषणाका साथ १० वैशाख २००६ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको सच्चा उत्तराधिकारीका रूपमा आफ्नो पार्टी जनताका बीचमा आएको पनि अध्यक्ष नेपालले बताए।
नेपालले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य गर्दै श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारलाई ध्यानाकर्षण पनि गराएका छन् ।
अध्यक्ष नेपालले स्वदेशमा प्राप्त मात्रामा रोजगारको अवसर नहुँदा ठुलो मात्रामा सक्रिय जनशक्ति विदेशिएकाले ती युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सिप र ऊर्जा देश विकासमा लगाउने प्राथामिकता दिने बताए । स्वदेशमा पर्याप्त रोजगारको अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमका रूपमा रहेको वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनु पर्ने उनले बताए ।
