केशव स्थापितलाई ‘मीटू’ आरोप लागेपछि ओलीले गरे प्रतिवाद

१६ बैशाख २०७९, शुक्रबार १७:०२

काठमाडौं महानगरपालिकाको मेयर पदमा एमालेबाट उम्मेदवार मा उठेका केशव स्थापितलाई ‘मीटू’ आरोप लागेपछि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले त्यसको प्रतिवाद गरे।

नेशनल कलेजमा १५ बैशाखमा आयोजित काठमाडौंका मेयर उम्मेदवारहरूसँगको साक्षात्कार कार्यक्रमा स्थापितलाई महिलामाथि यौन दुव्यवहार गरेको प्रश्न उठेको थियो।

प्रश्नकर्ताले ‘यौन दुर्व्यवहारको आरोप लागेको तपाईंको कार्यालयमा हामी महिला आउँदा सुरक्षित हुन्छौँ कि हुँदैनौँ ?’ भन्दै एक विद्यार्थीको प्रश्नमा उत्तेजित हुँदै स्थापित महिलामाथि नै खनिएका थिए। हिजो नै एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले निर्वाचनको समयमा ‘मीटू’ जस्ता विषय उठिरहने बताए।

उनले कार्यक्रममा भनेका थिए, “कसैले महिला अस्मितालाई अवमूल्यन गर्न, होच्याउन वा त्यसलाई बेवास्ता गर्न अथवा त्यसमाथि खेलवाड गर्न पाउँदैन।” कार्यक्रममा उनले महिलाप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताउँदै गर्दा यौन दुव्यवहारको आरोप खेपेका काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार स्थापित उनीसँगै थिए।

ओलीले कार्यक्रममा निर्वाचनको समयमा नै ‘मीटू’ को विषय किन उठ्छ भन्दै प्रश्नसमेत गरे। उनले यस्तो भन्दै गर्दा मीटू अभियानप्रति उनको धारणा सकारात्मक थिएन।

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी एमाले अध्यक्ष ओलीले आफ्नो पदीय हैसियतअनुसार सार्वजनिक अभिव्यक्ति नदिने गरेको आरोप लगाउँछिन्। “उहाँहरूको बोलीमा दण्डहीनताको विषय जोडिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो पदीय हैसियतलाई नसुहाउने प्रकारको अभिव्यक्ति धेरै पटक दिनुभएको छ,” अन्सारी भन्छिन्, “केशव स्थापितको विषय आजको होइन, धेरै अगाडि देखिको हो। स्थापितलाई समर्थन गर्दा हाम्रा राजनीतिक पार्टीले महिलाविरुद्ध हिंसालाई गम्भीर रुपमा नलिएको देखिन्छ।”

स्थापितमाथि काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफै मातहतको महिला कर्मचारी रश्मिला प्रजापतिमाथि यौन दुर्व्यवहार गरेको आरोप छ। यस्तै पत्रकार उज्ज्वला महर्जनले पनि स्थापितले आफूलाई यौन दूव्यवहार गरेको आरोप लगाएकी छन्। यसै विषयमा नेशनल कलेजको साक्षात्कार कार्यक्रममा स्थापितमाथि प्रश्न उठेको हो।

यही आरोपका कारण स्थापितले बागमती प्रदेशको भौतिक योजनामन्त्रीबाट राजीनामा दिएका थिए। त्यो समयमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसंग मन्त्रिपरिषद्को बैठकमा स्थापितको भनाभन नै भएको थियो। यद्यपि, स्थापितलाई ‘मीटू’ आरोपका कारण मन्त्री पद खोसिएको थियो।

मीटू यौन दुर्व्यवहार र यौन उत्पीडनविरुद्ध एक समाजिक आन्दोलन हो। यो अभियानअन्तर्गत विशेषगरी महिलाहरूले आफूमाथि भएको यौन दुर्व्यवहार सार्वजनिक गर्छन्। २००६ मा समाजिक सञ्जालबाट शुरु भएको यो अभियान २०१७ बाट विश्वव्यापी रुप लिएकोल थियो।