तिलोत्तमामा गठबन्धनले ल्यायो लोकप्रिय घोषणा पत्र

१६ बैशाख २०७९, शुक्रबार १४:५५

बैसाख ३० गते हुने स्थानीय निर्वाचनका लागि तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले लोकप्रिय कार्यक्रमहरु समेटेर घोषणापत्र सार्वजनिक गरेको छ ।

कांग्रेस नेतृत्वको गठबन्धनले बनाएको घोषणापत्रमा भारतको दिल्ली सरकारका मुख्यमन्त्री अरबिन्द केजरीवालका जस्तै लोकप्रिय र जनपक्षीय रहेका छन् । घोषणापत्रमा हाल नगरपालिकाले लिंदै आएको एकीकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने, रुग्ण उद्योग व्यवसायको तिर्न बांकी करमा ५० प्रतिशत छुट दिने, सडक निर्माण गर्दा हाल नगरवासी उपभोक्ताबाट ५० प्रतिशतसम्म लागत साझेदारी गर्नुपर्ने व्यवस्थ पूर्णरुपमा अन्त्य गरी सरकारी वजेटमा बनाउने प्रतिवद्धता गरिएको छ ।

यस्तै ३० युनिट विद्युत महशुल र खानेपानीको न्यूनतम महशुल निःशुल्क गरिने तथा इन्डक्सन चुल्हो खरिदमा ६० प्रतिशत अनुदान दिने प्रतिवद्धता छ । यस्तै एक घरः एक रोजगार वा व्यवसाय नीति कार्यान्वयन, अव्यवस्थित वस्तीलाई व्यवस्थित बनाई ५ वर्षभित्र सबैलाई लालपुर्जा वितरण गरी सुकुम्बासी समस्या सधैका लागि अन्त्य गर्ने, जनताबाट उठाएको करले शालिक, गेट, स्तम्भ, भ्यु टावर नबनाउने घोषणापत्रमा भनिएको छ ।

यस्तै उपहार र भोजभतेरमा पूर्णरुपमा बन्देज लगाउने ,जन्म विवाह,मृत्यु दर्ता बसाई सराई प्रमाणपत्र नागरिकको घरमै गएर सेवा दिने प्रतिवद्धता गरिएको छ ।

नगरपालिकाको प्रशासनिक भवनलाई नगर अस्पताल बनाइने

यस्तै तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवनलाई नगर अस्पतालमा रुपान्तरण गर्ने प्रतिवद्धता घोषणापत्रमा छ । अध्ययनसंगै स्वआर्जन गर्न सकिने प्राविधिक क्याम्पस सञ्चालन, सामुदायिक विद्यालयमा दिइने दिवा खाजामा शत प्रतिशत बृद्धि गरिने, दीर्घकालीन योजना अन्तर्गत तिलोत्तमा प्राविधिक विश्वद्यिालय स्थापनाको पहल गर्ने प्रतिवद्धता गरिएको छ । प्रत्येक वडाबाट ३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई मेकानिकल सब ओभरसियर तालिमका लागि हरेक वर्ष छात्रवृत्ति दिने, सबै वडाका स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने, अपांग र जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार,सुत्केरी भत्ता, सस्तो औषधि पसल सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ ।

यस्तै एक घर एक रोजगार वा व्यवसाय योजना, रात्रीकालिन नगर सुरक्षा व्ययवस्था, सरकारी जग्गाको संरक्षण र उपयोग गरिने तर भोगाधिकार कसैलाई नदिइने, सार्वजनिक स्थानमा फ्रि वाईफाई र सीसीटीभी जडान गरिने प्रतिवद्धता छ । यस्तै मोबाइल एप तथा डिजिटल प्रणालीमार्फत घरमै बसेर दर्ता तथा सिफारिस सेवाहरु लिन सकिने व्यवस्था र प्रत्येक वडामा बैंक शाखा स्थापना गरी डिजिटल भुक्तानी प्रणाली लागु गरिने घोषणापत्रमा उल्लेख छ ।

यस्तै सबै वडामा खेल मैदान र खेल प्रशिक्षक व्यवस्था, ५ वर्षभित्र कभर्ड हल निर्माण आरम्भ , प्रतिभावान खेलाडीलाई प्रोत्साहन भत्ता व्यवस्था गर्ने प्रतिवद्धता जनाइएको छ ।

यस्तै एक वडा एक कृषि हाटबजार, ५ लाख सम्म लगानीका कृषि उद्यमको दर्ता निःशुल्क र एक वर्षसम्म कर छुट तथा सामुहिक खेती प्रणालीलाई प्रवद्र्धन गरिने प्रतिवद्धता जनाइएको छ ।

यस्तै नगरभित्र विद्युतीय बस सञ्चालन गर्ने, ५ वर्षभित्र तिलोत्तमा चक्रपथ निर्माण गर्ने, नागरिक लगानी आवास योजना कार्यान्वयन गर्ने प्रतिवद्धता छ । प्रतेक वडामा जेष्ठ नागरिक मिलन केन्द्र र बाल उद्यान पार्क बनाइने , फोहोर व्यवस्थापन शुल्क निःशुल्क गरिने, रोहिणी, सुखौरा र तिनाउ नदीबाट हुने कटान रोक्न तटबन्ध गर्ने, तिलोत्तमा नगर रोजगार योजना अन्तर्गत उतपादनको आधारमा पारिश्रमिक दिने, तालिम प्राप्त वा प्लस टु पास गरेका युवा युवतीलाई ४ प्रतिशत ब्याज दरमा ५ लाख रुपैयां विना धितो कर्जा दिइने प्रतिवद्धता छ ।

नगरपालिकालाई भ्रष्टाचारमुक्त र बेरुजू शुन्य बनाइने

मेयर पदका उम्मेदवार रामकृष्ण खांणले आफूहरुले जितेपछि नगरपालिकालाई भ्रष्टाचारमुक्त र बेरुजू शुन्य नेपालकै नमूना पालिका बनाउने बताए । एमाले नेतृत्वमा हुंदा नगरपालिकाभित्र नीतिगत भ्रष्टाचार मौलाएको भन्दै खांणले आफूहरुले नगरपालिकालाई सुशासनको नमूना बनाउने बताए । केपी ओली नेतृत्वको साढे ३ वर्षे शासनकालमा स्थानीय देखि केन्द्र सरकारसम्म भ्रष्टाचार मौलाएको र संविधानमाथि प्रहार गर्दै प्रतिगमन भएकाले सत्तारुढ पांच दल एक ठाउंमा उभिनुपरेको बताए ।

तलब भत्ता सामाजिक काममा

मेयर पदका उम्मेदवार रामकृष्ण खांणले आफूहरुले जितेपछि राज्यबाट पाउने तलब भत्ता गरिब तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति र सामाजिक काममा लगाउने प्रतिवद्धता जनाए ।

उपमेयरका उम्मेदवार हेमन्त पाण्डेले संविधानका उपलब्धी रक्षा गर्न गठबन्धन मुलुकको आवश्यकता भएको बताए ।