प्युठान नगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रले टुंगो लगाएको छ ।
मेयरको टिकट नगर कमिटी अध्यक्ष विष्णु योगीलाई दिने निर्णय भएको माओवादी केन्द्रका प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारीले बताएका छन् । माओवादी केन्द्रबाट मेयरको टिकट पाएका योगी लामो समयसम्म शिक्षण पेसामा संलग्न थिए।
प्युठान नगरपालिकाको मेयरमा बहालवाला नगरप्रमुख अर्जुनकुमार कक्षपतीसहित पाँच जना आकांक्षी थिए । तर, हेभीवेट भनिएका आकांक्षीलाई पछि पार्दै योगीले टिकट पाएका हुन् ।
कांग्रेसले यसअघि नै मेयर पदमा पराजित देवेन्द्र बर्मालाई उपमेयर पदमा अघि सार्ने निर्णय गरिसकेको छ ।
प्युठान नगरपालिकामा स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका छन् । अघिल्लो निर्वाचनमा पनि यो नगरपालिकामा माओवादीले नै जितेको थियो ।
प्युठान नगरपालिकामा कांग्रेसको भागमा वडानम्बर १, २, ६, ७ र ८, माओवादीको भागमा वडानम्बर ३, ४ र ९ र राष्ट्रिय जनमोर्चाको भागमा वडानम्बर ५ र १० को वडाअध्यक्ष दिने सहमति भएको छ ।
प्युठान नगरपालिकामा गठबन्धनमा आबद्ध तीन दल कांग्रेसले ५ वटा वडा, माओवादीले ३ वटा वडा र राष्ट्रिय जनमोर्चा २ वटा वडामा वडाअध्यक्ष दिने सहमति गरेका छन् ।
