२४ वटा बिमा कम्पनीहरुले मात्रै पुँजी वृद्धि योजना बुझाएका छन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आइतबारसम्म २४ वटा बिमा कम्पनीहरुले पुँजी वृद्धि योजना बिमा समितिसमक्ष पेश गरेका हुन् । समितिले दिएको समय आइतबार वैशाख ११ गते सकिएको छ । वैशाख १० गतेसम्मको समय दिए पनि उक्त दिन शनिबार परेकाले आइतबारसम्म पुँजी वृद्धिको योजना पेश गर्न सकिने समितिको भनाई छ ।
शुक्रबारसम्म २१ वटा बिमा कम्पनीले पुँजी वृद्धि योजना बुझाएका थिए । आइतबार थप ३ कम्पनीले क्यापिटल प्लान पेश गरेका उनले बताए । अहिले मुलुकमा जीवन र निर्जीवन गरेर ३९ वटा बिमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । नेपाल लाइफको पुँजी तोकिएकोभन्दा धेरै भएकाले पुँजी वृद्धि योजना पेश गर्नुपर्दैन । यसअनुसार अझै १४ कम्पनीले समितिमा पुँजी वृद्धिको योजना बुझाएका छैनन् । तोकिएको समयमा नबुझाउने कम्पनीहरुलाई बिमा ऐनबमोजिम कारबाही हुने पौडेलले बताए ।
उनले भने, ‘हामीले पुँजी वृद्धिको योजना पेश गर्न एक महिनाको समय दिएका हौं । यस समयमा योजना पेश नगर्ने कम्पनीलाई बिमा ऐनअनुसार कारबाही हुन्छ ।’ साथै, बिमा समितिले पुँजी वृद्धि योजना पेश गर्न समय थप नगर्ने समेत उनले जानकारी दिएका छन् ।
समितिका अनुसार जीवन बिमा कम्पनीहरुमध्ये एसियन लाइफ, सूर्या लाइफ, नेसनल लाइफ, महालक्ष्मी लाइफ, गुराँस लाइफ, मेट लाइफ, लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) ले पुँजी वृद्धि योजना पेश गरेका छन् । त्यस्तै, सानिमा लाइफ, सिटिजन लाइफ, रिलायन्स लाइफ र आइएमई लाइफ इन्सुरेन्स कम्पनीले पनि पुँजी वृद्धि योजना पेश गरेका छन् ।
यता, निर्जीवन बिमा कम्पनीहरुमा सानिमा जनरल, आइएमई जनरल, एभरेस्ट, प्रुडेन्सियल, नेको, लुम्बिनी जनरल, शिखर, नेपाल इन्सुरेन्स, सगरमाथा, अजोड र जनरल इन्सुरेन्स कम्पनीले योजना पेस गरेको समितिले जानकारी दिएको छ । पुराना र सबल कम्पनीहरुले हकप्रद र बोनस सेयर दिएरै पुँजी वृद्धि गर्ने पक्षमा देखिएका छन् । बलिया कम्पनीहरुले सकेसम्म आफैंले पुँजी वृद्धि गर्ने वा अवसर मिलेमा अरुलाई एक्वायर गर्ने रणनीति रहेको पाइएको छ ।
