सत्तारढ पाँच दलीय गठबन्धनले चितवनको मेयर र उपमेयरको उम्मेदवारको भागबण्डा टुंग्याएको छ।
मेयर र उपमेयरको भागबण्डा टुंग्याएपछि स्थानीय तहहरुको वडामा तालमेल गर्न गठबन्धनलाई हम्मे हम्मे भएको थियो।
सबै स्थानीय तहमा वडासम्म भागबण्डा टुंगिएको नेपाली कांग्रेसका सचिव ध्रुव पोखरेलले बताए। पोखरेलका अनुसार नेपाली कांग्रेसले भरतपुर महानगरपालिकामा २० वटा वडा पाउने सहमती भएको छ।
माओवादी केन्द्रले ५ र नेकपा एकीकृत समाजवादीले ३ वटा वडा पाउने टुंगो लागेको छ। भरतपुरको वडा नम्बर २६ मा भने कांग्रेस र माओवादी दुवैले दाबी नछाडेका कारण यहाँ दुवै पार्टीका उम्मेदवार हुने सम्भावना छ।
भरतपुरका १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडाहरु नेपाली कांग्रेसको भागमा परेको छ। माओवादीको भागमा ११, १३, २४, २५ र २८ नम्बर वडा परेका छन्।
एकीकृत समाजबादीले ९, १२ र २२ नम्बर वडा पाएको छ। सचिव पोखरेलले अब गठबन्धनका दलहरुले उम्मेदवार टुंगो लगाउने बताए।
गठबन्धनले भरतपुर, माडीको मेयरमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्नेछ। रत्ननगर, खैरहनी, कालिका र इच्छाकामनाको प्रमुखमा कांग्रेसले उम्मेदवार उठाउने सहमति भएको छ।
नेकपा एकीकृत समाजबादीले कालिका नगरपालिकाको मेयरमा उम्मेदवार हुने सहमति भएको छ। भरतपुरमा माओवादीले रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउने निश्चित भएको छ।
यस्तै अन्य तहमा मेयर र उपमेयरका उम्मेदवार अझैसम्म तयार नभएको स्रोतले जनाएको छ ।
