यी हुन् गठबन्धनबाट तुलसीपुर र घोराहीमा मेयर र उपमेयरका उम्मेदवारीहरु

११ बैशाख २०७९, आईतवार १२:२६

कांग्रेसले केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई दाङको तुलसीपुर उपमहानगरपालिकामा मेयरका लागि उम्मेदवार बनाएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर पद पाँच दलीय गठबन्धनले भागबन्डा गर्दा कांग्रेसको भागमा परेको थियो। तुलसीपुर उपमहानगरपालिकामा मेयरका लागि उम्मेदवार बनेका गिरी नेपाली कांग्रेसबाट २०५६ सालमा निर्वाचित पूव सांसद समेत हुन्। उनी दुई कार्यकाल नेपाली कांग्रेस दाङको जिल्ला सभापति भइसकेका नेता हुन्। तर, २०७४ सालको निर्वाचनमा गिरी नेकपा एमालेका घनश्याम पाण्डेसँग तुससीपुरको मेयरमा पराजित भएका थिए।

तुलसीपुर उपमहानगरपालिकाको उपमेयर पदका लागि नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज जोगबहादुर राना मगर उम्मेदवार बनेका छन्। राना मगर यसअघि नेकपा एमाले दाङको उपाध्यक्ष र कार्यबहाक अध्यक्षको भूमिका निर्वाह गरि सकेका नेता हुन्।

पाँच दलीय गठबन्धनको सहमति अनुसार घोराही उपमहानगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रबाट केन्द्रीय सदस्य हेमराज शर्मा (डायमन्ड) उम्मेदवार बनेका छन्। डायमन्ड माओवादी केन्द्र दाङ जिल्लाका सह(इञ्चार्ज हुन्।

नेपाली कांग्रेसबाट २०७४ सालमा मेयरमा भिडेका भुपबहादुर डाँगी अहिले उपमेयरको उम्मेदवार बनाइएका छन्।
कांग्रेसको भागमा उपमेयर परेपछि गठबन्धनले डाँगीलाई उपमेयरको उम्मेदवार बनाएको हो।

पाँच दलीय गठबन्धनले भागबन्डा गर्दा दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर नेपाली कांग्रेसलाई र घोराही उपमहानगरपालिकाको मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेको थियो ।