पार्टीले कार्यकर्ताको भावना र विधान विपरीत निर्णय गरेको भन्दै लम्सालले दिए राजीनामा

९ बैशाख २०७९, शुक्रबार १५:३९

पार्टी नेतृत्वले कार्यकर्ताको भावना र विधान विपरीत एकलौटी निर्णय गरेको भन्दै कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टी परित्याग गरेका छन्।

सभापति लम्सालले स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टीले एकलौटी निर्णय गरेको भन्दै शुक्रवार जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाएका उनले बताएका छन्।

पार्टीले एकलौटी र षड्यन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेको उनको आरोप छ। लम्साल बुटवल उपमहानगरपालिकाको प्रमुख पदका आकांक्षी समेत थिए। तर, कांग्रेसको बुटवल नगर समितिले दुई दिनअघि बुटवलको प्रमुख पदको उम्मेदवारमा खेलराज पाण्डेको नाम सिफारिस गरेको छ।

सभापति लम्साल लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गर्दै दुई कार्यकाल क्षेत्रीय सभापति भएका उनले पार्टीमा इमान्दारीता, निष्ठा र विधानको कुनै महत्व नरहेको भन्दै राजीनामा दिएको उल्लेख गरेका छन्।