काठमाडौं महानगरपालिकाको प्रमुखको लागि पाँच जनाको नाम नेपाली कांग्रेस काठमाडौं नगरसमितिले सिफारिस गरेको छ । आकांक्षी उम्मेद्वारको नाम पहिले नगरबाट सिफारिस भएपछि महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वारको घोषणा केन्द्रले नै गर्दछ ।
काठमाडौं महानगरपालिकाको प्रमुखका लागि नगर सभापति नीलकाजी शाक्य, वर्तमान उपप्रमुख हरिप्रभा खड्की, कांग्रेस नेता प्रकाशमान सिहको पत्नी सिर्जना सिंह, प्रगतिमान रञ्जित र सुसन वैद्यको नाम बिहीबार बसेको नगर कार्यसमितिको बैठकले सिफारिस गरेको हो ।
कांग्रेस विधानमा महानगरपालिकाको प्रमुख र उपप्रमुखको उमेद्वार छनौट केन्द्रीय संसदीय समितिले गर्ने उल्लेख छ । प्रमुख र उपप्रमुखको लागि महानगरपालिका कार्यसमितिले सिफारिस गरेको एक महिलासहित बढीमा तीन÷तीन जनाको नाम पहिला प्रदेश कार्यसमितिमा जान्छ । प्रदेश कार्यसमितिले प्राप्त नाम आफ्नो राय सुझावसहित केन्द्रमा पठाउँछ । केन्द्रले महानगरपालिकाको उम्मेदवार निर्णय गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई उम्मेदवार घोषणा गर्नुपर्ने व्यवस्था छ । तर, कांग्रेसको केन्द्रीय संसदीय समिति अझै गठन भएको छैन ।
काठमाडौं नगरकार्यसमितिले काठमाडौं महानगरपालिकाको उपप्रमुखको लागि शुशीला ढकाल र डा.अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ । सत्तारूढदल बीच काठमााडौं महानगरको उपप्रमुख एकीकृत समाजवादीलाई दिने सहमति भएको छ ।
