जनता समाजवादी पार्टी नेपाल (जसपा) काे चुनावी घोषणापत्रमा विशेष के छ ?

९ बैशाख २०७९, शुक्रबार ०६:२२

आउँदो निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणा पत्रमा महिला र दलितलाई एक करोडसम्मको ऋण दिने व्यवस्था राखेको छ।

दुई खण्ड र दुई/दुई भागको घोषणापत्रमा संघीय र प्रादेशिक सरकारसँग सहयोग र समन्वय गरेर स्थानीय स्रोत साधनको प्रयोग गरी समृद्धि र विकसित नगर बनाउने प्रतिबद्धता जनाएको छ ।

घोषणा पत्रको खण्ड (क) को भाग १ मा पार्टीको विचार, राजनीति र कार्यदिशा उल्लेख गरेको छ भने भाग २ मा आर्थिक तथा सामाजिक रुपान्तरण बारे आफ्ना प्रतिबद्धता जनाएका छन, जसमा मधेश प्रदेश सरकारको उपलब्धीलाई प्राथमिकता दिएका छन ।

जसपाले स्थानीय तहका चुनौति, सम्भावना र जसपाको प्रतिबद्धता, स्थानीय तह सञ्चालनमा पार्टीको निती, सुशासन काम गर्ने नीति, लगानीका स्रोत सम्बन्धी नीति, भौतिक पुर्वाधार निर्माण नीति, स्थानीय अर्थतन्त्र निर्माण नीति, स्थानीय लोकतन्त्र सुदृढिकरण र वातावरण तथा सामाजिक जागरण सम्बन्धी सहितको नीति उल्लेख गरेको छ ।

त्यस्तै, भौतिक पुर्वाधार विकास, सिँचाई, सहरीकरण, आर्थिक करिडोर र भू उपयोग, शिक्षा, स्वास्थ्य र खेलकुद, कृषि र पशुपालन, पर्यटन, औद्योगिक विकास, बाल अधिकार संरक्षण, समावेशी विकास, महिला उत्थान, दलित, अल्पसंख्यक, शारिरीक अपांगता भएकाको उत्थान गर्ने लगायतका प्रतिबद्धता जनाइएको छ ।

स्थानीय जनतालाई सरल तथा सहज रूपमा प्रशासनिक सेवा दिदै उनीहरूको आय स्रोत बढाउने र लगानी मैत्री वातावरण तयार गर्ने पार्टीको दावी छ ।

जसपाले कार्यालयमा सेवा लिन आउँने जनतालाई छिटो, छरितो सेवा प्रदान गर्न आवश्यक जनशक्ति व्यवस्थापन गर्ने दावी गरेको छ ।

चालु खर्च कम र मितव्ययी गर्ने, पुँजीगत लगानी अभिबृद्धि गर्ने नीति जसपाले लिएको छ । स्रोतसाधन परिचालन गर्दा करको दर कम गर्ने र प्रादेशिक सरकारबाट पाउने बजेट र अनुदानको प्रभावकारी कार्यसम्पादन गरी बिशेष अनुदान दिने जसपाले भनेको छ ।

जसपाले पालिकाको केन्द्र र वडा केन्द्रहरू जोड्ने सडकहरू बनाउने, लिंक रोड बनाइनुको साथै पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयलाई सडकसँग जोड्ने उल्लेख गरेको छ ।

जसपाले सबै पालिकाहरुमा एक बसपार्क बनाउने, महानगरहरूमा नगर रेल सेवा विकासको संभावनाबारे अध्ययन गर्ने, शुद्ध पिउने पानीको सुविधा नपुगेका घरवस्तीमा खानेपानी सुविधा पुराउने, खानेपानीमाखानेपानीमा दुई सय रुपैया सम्म निशुल्क वितरण गरिने घोषणा पत्रमा उलेख गरेको छ ।

शौचालय नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजार रुपियाँ दिने, खानेपानीका मुहान र पोखरी संरक्षण गर्ने र दलित, अल्पसंख्यक, शारिरीक अपांगता भएका व्यक्तिहरुको रोजगारी तथा महिला उत्थानका लागि ५ प्रतिशत अनुदानसहित सहुलियत ब्याज दरमा एक करोड रुपैया सम्म ऋण उपलब्ध गराइने घोषणा पत्रमा उल्लेख छ ।