एन आई सी एशिया बैंकको वित्तिय सुचकहरु कस्ता छन ?

८ बैशाख २०७९, बिहीबार ०६:५५

मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैक लिमिटेडले चालू आ.व. २०७८/७९ को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले तेस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७४.७४ अर्ब पु¥याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०२.८१ अर्ब पु¥याउन बैंक सफल भएको छ ।

बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. ३.६० अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४१.९४ आर्जन गर्न बैंक सफल भएको छ, २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रयमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रयमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७८/७९ को दोस्रो त्रयमासमा कर्जा विस्तार, निक्षेप संकलन, प्रति शेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर संख्या, एटिएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता र सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था अघिको) मा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (ग्राहक संख्यामा निजी बैंकहरुमा पहिलो) ओगट्न सफल भएको थियो ।

बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।